चितवन निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु



चितवन ।

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१–०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन्। सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाले ज्यान गुमाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । त्यसैगरी हात्तीको आक्रमणबाट दुई र बाघको आक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

सोही अवधिमा वन्यजन्तुको आक्रमणबाट ४१ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते ३२ र सामान्य घाइते नौ जना छन् । वन्यजन्तुबाट मृत्यु हुनेमा अधिकांश घाँस काट्न र निगुरो टिप्न गएका व्यक्ति छन् । बाघ, गैँडा, हात्ती, जंगली बँदेल, मगरगोही, गौरीगाईलगायत वन्यजन्तुको आक्रमणबाट मानिसहरूको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो पाँच वर्षमा जंगली जनावरको आक्रमणबाट ७३ जनाले ज्यान गुमाइसकेका छन् । सोही अवधिमा वन्यजन्तुको आक्रमणमा परी १६९ जना घाइते भएका छन् । उहाँका अनुसार पछिल्लो पाँच वर्षको अवधिमा आव २०७८–०७९ मा सबैभन्दा धेरै ३० जनाले ज्यान गुमाएका थिए । सो वर्ष बाघको आक्रमणबाट मात्रै २१ जनाको मृत्यु भएको थियो । वन्यजन्तुको आक्रमणबाट एक वर्षको अवधिमा १७९ वटा घरपालुवा पशुको क्षति भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ ।

सबैभन्दा बढी चितुवाको आक्रमणबाट १४० वटा पशुको क्षति भएको छ । बाघको आक्रमणबाट ३७ र अजिङ्गरबाट दुई वटा पशुको क्षति भएको सूचना अधिकारी रानामगरले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका २३ वटा घरमा हात्तीले क्षति पु¥याएको छ । निकुञ्जका अनुसार गत आवमा मात्रै १३ वटा घरको अन्न भण्डारमा हात्तिले क्षति गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रबार