नगर प्रहरीले मन्दिर भत्काएपछि चौतर्फी आलोचला



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके)

कोहलपुर नगर प्रहरीले कोहलपुर ४ स्थित किरणनालामा व्यक्तिको घरमा निर्माणाधीन मन्दिर भत्काइदिएपछि विवाद सुरु भएको छ । स्थानीय टिकादेवी शाहको घरमा निर्माण गरिरहेको मन्दिर नगर प्रहरीले भत्काइदिएपछि विवाद भएको हो । नगर प्रहरीको उक्त कार्यको अहिले चौतर्फी आलोचना भइरहेको छ । असार २४ गते कोहलपुर नगर प्रहरीले उक्त घरमा निर्माण भइरहेको मन्दिर भत्काइदिएको थियो । नगर प्रहरीले व्यक्तिको घरमा निर्माण गरिरहेको मन्दिर भत्काएको विषयमा अहिले विवाद सिर्जना भएको हो ।

आफूहरु घरमा नभएको समयमा छापामार शैलीमा एक्कासि नगर प्रहरी आएर मन्दिर निर्माण गर्ने सामग्री जफत गर्नुका साथै मन्दिर भत्काइदिएको पीडितको गुनासो छ । केही संख्यामा त्यहाँ बसोबास गरिरहेका स्थानीयहरु उक्त जग्गामा २०५१ सालदेखि बसोबास गर्दै आएका छन् । साविक रझेना गाविस वडा नम्बर ३ र ‐हाल कोहलपुर ४)मा रहेको उक्त सार्वजनिक जग्गा साविकको कित्ता नम्बर १०० भित्र पर्छ । उक्त क्षेत्रमा रहेको जग्गा ६ बिघा क्षेत्रफलमा फैलिएको छ ।

त्यही जग्गामा केही स्थानीय लामो समयदेखि बसोबास गर्दे आएका छन् । ती घरधुरी जिल्ला प्रशासन कार्यालय बाँकेको सहजीकरणमा बसोबास गर्दै आएका थिए । ७ नम्बर प्रति ऐलानी जग्गामा बसोबास गर्दै आएका उनीहरु जाजरकोटबाट विस्थाफित भएर आएका हुन् ।
पीडित शाहका अनुसार नगर प्रहरीले मन्दिर निर्माणका लागि जम्मा गरिएका फरुवा, बिल्छ्या, तछला, कुछासमेत जफत गरेको छ । स्थानीय सरकारले आफूहरुलाई दुःख दिँदै आएको उनी बताउँछिन् । कहिले निर्माण सामग्री उठाएर लगिदिने त कहिले मन्दिर भत्काइदिने गरेको उनले गुनासो गरिन् ।

शाह कोहलपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षको निर्देशनमा नगर प्रहरीले आफ्नो निर्माणाधीन मन्दिर भत्काएको दाबी गर्छिन् । ‘मैले वडा अध्यक्षलाई भेटेरै नभत्काइदिन आग्रह गरेको थिएँ । उहाँले मान्नु भएन । बरु उल्टै नगर प्रहरी लगाएर मन्दिर भत्काइयो,’ उनले भनिन्। मन्दिर भत्काउन लागेका छन् भन्ने थाहा पाएर वडा अध्यक्षलाई कार्यालयमै भेटेर अनुनय विनय गर्दासमेत नमानेको उनको भनाइ छ । ‘मेरो कूल देवताले नमानेर बाध्यताले बनाएको हुँ भनेको थिएँ । उहाँले नै निर्देशन दिनु भएको हो । पछि नगर प्रहरीले भत्काएका हुन् ।’ उनले भनिन् ।

यस्तै स्थानीय विष्णुकुमार अर्याल आफू उक्त क्षेत्रमा ३२ वर्षदेखि बसोबास गर्दै आइरहेको बताउँछन् । नगर प्रहरी आएर मन्दिर भत्काउँदा आफूले देखेको उनले बताए । उनका अनुसार नगर प्रहरीले भत्काएको मन्दिर पूर्वपश्चिम राजमार्गदेखि ३१ मिटर टाढा पर्छ । उनले भने, ‘चोर र डाँकाको शैलीमा मन्दिर भत्काएका छन् । जानकारी दिएर वा गाउँ समाज र सम्बन्धित व्यक्तिलाई भनेर होइन नी । आफूहरुले सोध्नै पाइएन किन भत्काइयो भनेर ?’ नगर प्रहरीले मन्दिर भत्काएको क्षेत्र कसैको पनि बिर्ता नभएको उनको भनाइ छ । हाल विवादित अवस्थामा रहेको जग्गाका लागि आफू मुद्दा नै लँडेको विष्णु बताउँछन् ।

यस्तो छ, नगर प्रहरीको प्रतिक्रिया

कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापा अतिक्रमित जग्गामा निर्माण गर्न लागेको संरचना निर्माण गर्न रोकेको बताउँछन् । उनका अनुसार नगर प्रहरीले जेठ महिनाको २४ गते निर्माण रोकेको थियो । ‘उहाँहरुले सार्वजनिक जग्गामा टहारा बनाएर बसिरहनु भएको छ । नयाँ संरचना बनाउन नपाउने भन्ने छ । उहाँलाई पटक पटक संरचना नबनाउन लिखित रुपमै भनिएको छ, अटेर गरेपछि हामीले रोकेका हौँ,’ मिसन टुडेसँग कुराकानी गर्दै थापाले भने ।

कोहलपुर नगरपालिकाले २०८१ मंसिर महिनामा लिखित रुपमा त्यहाँ बसोबास गरिरहेकाहरुलाई उक्त जग्गामा कुनैपनि संरचना नबनाउन पत्राचार गरेको नगर प्रहरी प्रमुख थापाले बताए । ‘त्यहाँ नयाँ संरचना बन्न थालेपछि टोल विकास संस्थाले विरोध गरिरहेको थियो । वडा अध्यक्ष ज्यूलेसमेत भनिरहनु भएको थियो । उहाँहरुले अटेरी गर्दै आउनु भएको छ । हामीले कानुनी रुपमै रोकेको हो । नगर प्रमुखको आदेशमा भत्काइएको हो ।’ थापा भन्छन् । लामो समयदेखि सार्वजनिक जग्गामा बसोबास गरिरहेका उनीहरुले विभिन्न बाहनामा नयाँ संरचना खडा गरिरहेको उनले बताए ।

मन्दिर भत्काइएको विषयमा कोहलपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मुवारक अलि गुजरका अनुसार वडा कार्यालयसँग जोडिएको ६ बिघा जग्गा क्षेत्रमा लामो समयदेखि एउटा बस्ती बसोबास गर्दै आएको बताउँछन् । उनका अनुसार उक्त बस्ती हालसम्म विवादित अवस्थामा छ । उक्त जग्गामा कुनै पनि संरचना र धार्मिक संरचना निर्माण गर्न नपाइने वडा अध्यक्ष गुजरले बताए । स्थानीय सरकारले कानुनी रुपमै समस्या समाधान गर्न खोज्दा धार्मिक कुरा निकालेर विवादित बनाउन खोजिएको उनले बताए ।

‘म मुश्लिम वडा अध्यक्ष भएकै कारण मलाई बदनाम गराउन खोजिएको छ । सरकारी जग्गाको संरक्षण गर्नुपर्ने हाम्रो दायित्व हो । त्यसैले वडा कार्यालय आफ्नो भूमिका निर्वाह गरेको हो । सार्वजनिक जग्गामा कसैले पनि संरचना निर्माण गर्न पाउँदैन’ उनले भने । आफूले नगर प्रहरीलाई मन्दिर बनाउन लागेको खबर गरेको र नगर प्रहरीले मन्दिर भत्काएको उनले स्वीकार गरे । आफ्नो कार्यकालमा वडा नम्बर ४ मा थुपै्र हिन्दू समुदायका लागि मन्दिर निर्माण गरिदिएको उनको भनाइ छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ८ गते बिहीबार