शेरबहादुर ऐर । कैलाली ।
धनगढीको सबैभन्दा बढी व्यस्त सडक हो – ‘अत्तरिया मोहनापुल सडक ।’ २०७२ सालमा संघीय बजेटमा सो सडकको स्तरोन्नति गरि छ लेनको बनाइयो । तर, अहिले सडक वरपर सवारीसाधन राख्ने पार्किङ नहुँदा त्यहाँ रोकिएका सवारीसाधनले सडक साँघुरो बनेको छ । सो सडकको दायाँबायाँ बस, मोटरसाइकल, कार, भ्यान, ट्रक, विद्युतिय रिक्सा, तेल बोक्ने लगायतका सवारीसाधन राखिँदा सडकमा आवतजावत गर्ने व्यक्तिहरुले सास्ती भोग्नु परिरहेको छ ।
मोहनापुल मात्र नभई शहिदगेटदेखि क्याम्पसरोड जाने सडकको अवस्थामा पनि यस्तै रहेको छ । स्थानीय कमल पाण्डेले धनगढीले छ लेन सडकमा धनगढीले साइकल लेन बनाउनमात्र ध्यान दिएको बताए । उनले सवारी पार्किङ गर्ने स्थान नहुँदा साइकल लेन पछिको सडकमा सवारीसाधन राख्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘यहाँ रहेका बैंक, मार्ट, सरकारी संस्था, व्यवसायहरुमा सवारी पार्किङ गर्ने स्थान छैन । काम परेपछि सवारीसाधन सडकमै राखेर जानुपर्छ । त्यसैमा ट्राफिक प्रहरीले समस्या दिइरहन्छ ।’
धनगढी ट्राफिक चौराहदेखि कैलालीपुलसम्म साइकल लेन सहित सडकमा रेलिङ राखिएको छ । स्थानीय तथा धनगढीमा आस्था शु सेन्टर सञ्चालन गरिरहेका व्यापारी गणेश श्रेष्ठले धनगढीले सवारी पार्किङको व्यवस्था नगर्दा सडकमै सवारीसाधन राख्नुपर्ने वाध्यता रहेको बताए । उनले ग्राहकहरु सामान खरिद गर्र्न आउँदा सवारीसाधन सडकमै राख्नुपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘एकतर्फ पसलमा छिर्न ठाउँ छैन । सवारी राख्ने स्थानमा साइकल पथ बनाइएको छ । हामी व्यवसायी त सवारी अन्यत्र राखेर पसलमा बसौँला तर, पसल आउने ग्राहकहरु सडकमै सवारी राख्नुपर्ने बाँध्यता रहेको छ । धनगढीले सवारीसाधन राख्ने व्यवस्था गर्न जरुरी रहेको छ ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले छ लेन सडकमा राखिएका सवारीसाधन हटाउन सुरु गरेको छ । धनगढी ट्राफिक प्रहरी प्रमुख चक्र देउवाले अहिले छ लेन सडकको साइकल लेनमा राखिएका सवारीसाधन खाली गर्न सुरु गरिएको बताए । उनले आगामी दिनमा पनि सो सडकमा सवारी राखेको पाइए जरिवानासहित कारबाही गरिने बताए । उनले भने, ‘हामी ट्राफिक नियम पालना गराउनमा सचेत रहेका छौँ । त्यही व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वन गराउन लागिरहेका छौँ । अहिले साइकल पथमा राखिएका सवारीसाधन हटाउन सुरु गरेका छौँ । अझ पनि यो पथ वा सडकमा सवारी राखिए जरिवाना गराउने छौँ ।’
धनगढीले सार्वजनिक निकाय रहेका स्थानमा सवारी पार्किङ बनाएको छ । धनगढीको चौराहदेखि क्याम्पसरोडसम्मको सडक क्षेत्रभित्र रहेको साल्ट ट्रेडिङ कर्पोरेशन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, पशु कार्यालय, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालयमा लाखौँ रकम खर्च गरेर सवारीसाधन राख्ने व्यवस्थाका लागि संरचना निर्माण गरेको छ । तर, सो क्षेत्रमा सवारीसाधन राख्दा शुल्क लिने तयारीस्वरुप ठेक्का आह्वान गरेको थियो ।
अहिले जिल्ला प्रशासन, पशुु कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छुटफुट सवारीसाधन राखिने गरिएको छ । तर, पसलमा सामान खरिद गर्न आउने ग्राहक तथा सार्वजनिक र निजी संस्थामा सेवा लिन आउने सेवाग्राहीहरु धनगढीले बनाएको सवारी पार्किङ स्थलबारे जानकारी नहुँदा र त्यहाँ सवारी पार्किङ अनिवार्य नगरिँदा सडकमै सवारी राख्ने गरेका छन । यसअघि ट्राफिक चौराहदेखि क्याम्पसरोडसम्म धनगढीले व्यवस्थित सवारी पार्किङको प्रयासस्वरूप हलुका सवारीसाधनका लागि निःशुल्क पार्किङ स्थल तोकेको थियो ।
तरपनि बजारमा जहाँतहीँ जथाभावी ढंगले सवारीसाधन खडा गर्ने प्रवृत्तिले भने निरन्तरता पाइरहेको छ । धनगढीले अझै निकै भीडभाड हुने एलएनचोक, सेति प्रादेशिक अस्पताल, शहिदगेटदेखि क्याम्पसरोडसम्मको सडक, आन्तरिक राजस्व कार्यालयदेखि गुल्मचर्चसम्मको सडकमा सवारीसाधन राख्ने स्थान बनाउन सकेको छैन ।









प्रतिक्रिया दिनुहोस्