सम्पादकीयः बजार सौन्दर्यीकरण कार्य सराहनीय



कोहलपुर पश्चिम नेपालको उदाउँदो सहर हो । यतिमात्र होइन्, कोहलपुर तीन प्रदेशको ‘ट्रान्जिट प्वाइन्ट’ समेत हो । कर्णाली, सुदूरपश्चिम र लुम्बिनीको प्रवेशद्वारका रुपमा पनि कोहलपुरलाई हेरिने गरिन्छ । बाँके जिल्लाको कोहलपुर नगरपालिका समयक्रम अनुसार तीव्र सहरीकरण र औद्योगीकरणतर्फ विकासको गति लिइरहेको छ । पछिल्लो समय दिनप्रतिदिन बढ्दो औद्योगीकरण र सहरीकरणले कोहलपुर बजार कुरुप बन्दै गइरहेको समेत छ । कोहलपुरमा बसोबास गर्ने मानिसहरुको बढ्दो जनसंख्याले सहरमा फोहोरमैला पनि बढ्दो छ । जसको कारण सहरको सौन्दर्यीकरण हराउँदै जान थालेको प्रति सबैको चिन्ता छ । अर्काेतर्फ तीन प्रदेशको ‘ट्रान्जिट प्वाइन्ट’ रहेकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने स्वच्छ वातवरण बनाउन जरुरी छ । जसको सन्देश तीन प्रदेशका विभिन्न स्थानीय तहले पाउन् ।

कोहलपुरको सिको गरेर बजार सौन्दर्यीकरणमा लागुन् । त्यस मानेमा पनि कोहलपुर राम्रो हुन र बनाउन उत्तिकै महत्वपूर्ण रहेको छ । केही दिनयता कोहलपुर नगर विकास समितिले सहर सौन्दर्यीकरणमा लागिपरेको छ । नगरपालिका भित्र रहेको नगर विकास समितिले नगरका बजारमा कुरुप बन्दै गएका भित्ता र सडक पेटीहरु अहिले रङ्गाउन थालेको हो । जसका कारण कोहलपुरका मुख्य सडक पेटीहरु अहिले रङ्गिन बनेका छन् । सडकको धुलोले लेउ लागेका सडक पेटी र भित्ताहरु चिटिक्क परेको देखिन्छन् । नगर विकासले बजार सौन्दर्यीकरण कार्यक्रम नै सञ्चालन गरेर अघि बढेको छ । जसको कारण बजारमा घुम्ने मानिसहरुको समेत ध्यान खिच्न सफल भएको र अहिले नगरपालिका भित्र रहेका सडकका जेब्रा क्रसिङ, भ्यू टावर पेन्टिङ र सडक पेटीहरु रङ्गिदा सहरको जीवन नै फेरिएको देखिन्छ । स्थानीय तहहरुले पनि बजार सौन्दर्यीकरणमा जोड दिएका छन्। नगरपालिका भित्र रहेका संरचनाको हेरचाह र संरक्षणको पनि यसमा उत्ति महत्व छ।

एकातिर सडक पेटी रङ्गाउँदा कंक्रिटको आयु बढ्ने । अर्काेतर्फ बजारको पनि सौन्दर्यीकरण हुने भएकाले स्थानीय तह र नगर विकास समिति लागिपरेका छन् । बजार सौन्दर्यीकरण हुन आफैँमा राम्रो कुरा हो । तर, कस्ता प्रकारका रङहरु प्रयोग भएका छन् ? रङ्गाएको कति समयसम्म टिक्न सक्छ ? त्यसले कस्तो असर पार्छ या पार्दैन लगायतका कुराहरुमा पनि ध्यान दिन आवश्यक छ । होइन्, भने रङ्गिन देखिएको बजार दुई महिनामा पुनः कुरुप बन्न सक्छ । कोहलपुर नगरपालिका विगतदेखि बजार सौन्दर्यीकरणमा लागि परेको छ । बजारमा हराजौँ बिरुवा वृक्षरोपण गर्नेदेखि आरामदायी बस्ने बेञ्चहरु अहिले राखेको पाइन्छ । अन्य स्थानीय तहको तुलनामा कोहलपुरले बजार सौन्दर्यीकरणमा केही गर्न खाजेको छ । बजार सौन्दर्यीकरणको लागि नगरपालिकाले सार्वजनिक स्थलहरुमा डस्टबिनसमेत राखेको छ । बजारमा यत्रतत्र हुने फोहोरलाई कम गर्न डस्टबिन उपयोगी हुने देखिन्छ ।

नगरपालिका सरसफाइ गर्ने कर्मचारीहरुले प्रत्येक दिन बजार सफा गर्ने गर्दा बजार स्वच्छ हुने अनुमान गर्न सकिन्छ । नगरपालिकाले चौराहदेखि एनटिभी रोडसम्म बिरुवामा लाइट जडान गर्नुका साथै चौताराहरु निर्माण गरेको छ । यसले गर्मीमा सितल र पानी पर्दा ओत लाग्न आम नागरिकलाई मद्दत पुगेको छ । नगरपालिकाले र नगर विकास समितिले नगरभित्रका विभिन्न ठाउँहरुमा बजार सौन्दर्यीकरणको लागि भ्यू टावर रङ्गाउनेदेखि बेञ्च राख्ने काम गरेका छन् । जुन सराहनीय कार्य मान्न सकिन्छ ।  बजार सौन्दर्यीकरणले अहिले कोहलपुरका आम नागकिरहरु टिकटक बनाउन र भिडिओ खिच्नका लागिसमेत लाइन लाग्ने गरेका देखिन्छन् । यसले कोहलपुरलाई चिनाउन र पर्यटन प्रवद्र्धनका लागि पनि थप मद्दत पु¥याउँछ । अर्काेतर्फ नागरिकहरुले घुम्ने र मनोरञ्जन लिन पाएका छन् । बजार सौन्दर्यीकरण हुनु सकारात्मन भएपनि दिगो हुन जरुरी छ । नगरपालिको यसतर्फ विशेष ध्यान जान र बजार सौन्दर्यीकरण गर्दा गुणस्तरमा पनि ध्यान दिन आवश्यक छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ५ गते सोमबार