कोहलपुर ।
कोहलपुर नगरपालिकाले सार्वजनिक स्थलहरुमा डस्टबिन राखेको छ । नगरपालिका क्षेत्रभित्र रहेका मुख्य चोकहरुमा नगरपालिकाले डस्टबिन राखेको हो । बाटो हिँड्ने बटुवादेखि सडक यात्रुहरुले जथाभावी फोहोर फाल्ने गरेकाले फोहोर डस्टबिनमा फालुन् र जथाभावी फोहोरजन्य बस्तु नहोस् भन्ने उद्देश्यले डस्टबिन राखिएको नगर प्रहरी प्रमुख बीरबहादुर थापाले बताए ।
नगरपालिकाका मुख्य चोकहरु र मानिसहरुको भिडभाड हुने ठाउँहरुमा डस्टबिन राखिएको छ । फोहोरहरुलाई आम नागरिकहरुले डस्टबिनमा फाल्ने गरे बजार सफा र स्वच्छ हुने विश्वास लिइएको छ । सबैले फोहोरजन्य बस्तु डस्टबिनमा फाल्ने बानी बसाल्न नगरपालिकाले अनुरोध गरेको छ ।
नगरपालिकाले १ सय १२ वटा डस्टबिन बजारमा राखेको नगर प्रहरी प्रमुख थापाले बताए । मानिसहरुको भिडभाड हुने ठाउँहरुमा धेरै फोहोर हुने भएकाले त्यसलाई कम गर्ने उद्देश्यले डस्टबिन राखिएको उनले बताए । पलास्टिकका डस्टबिन राख्दा टुट्फुट हुने भएकाले फलामबाट निर्मित डस्टबिनहरु बनाएर सार्वजनिक स्थलमा राखिएको उनले जानकारी दिए ।
डस्टबिनहरुमा नम्बरसहित विशेष निगरानीमा राखिएको छ । चोरी र तोडफोड हुने भएकाले निगरानी पनि बढाइएको उनको भनाइ छ ।
यस्तै कोहलपुर नगर विकास समितिले पनि गर्मीयाममा आरामदायी रुपमा बस्नका लागि बेञ्चहरु समेत राखिएको बताएको छ । नगर विकास समितिले सार्वजनिक स्थलहरुमा ५६ वटा बेञ्चहरु राखेको नगर विकास समितिका अध्यक्ष पूर्णप्रसाद आचार्यले बताए ।
नयाँ बसपार्कमा समेत यात्रुहरुका लागि आरामदायी बेञ्चहरु राखिएको उनले बताए । पुरानो बसपार्क, न्यूरोड, खुलामञ्च लगायतका मुख्य बजारका चोक र फुटपाथमा आरामका साथ बस्नका लागि बेञ्चहहरु राखिएका छन् । नागरिकहरु बजारमा आउँदा जाँदा र घुम्न निस्कने समयमा उक्त बेञ्चहरुमा आराम गर्ने गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्