रुपन्देही ।
रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कातिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रमसमेत सार्वजनिक गरेको छ । उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगका अनुसार असोज २१ गते बेलुका ५ बजेदेखि ७ बजेसम्ममा मनोनयन दिएका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ । त्यस्तै उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कायम गरिएको समेत आयोगले कार्यक्रम तालिका सार्वजनिक गरेको छ ।
उजुरीको जाँचबुझ तथा मनोनयनपत्रको निर्णय असोज २२ गते ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म गरिनेछ । त्यसपछि उम्मेदवारहरूको नामावली पुनः बेलुका ५ बजेदेखि ७ बजेसम्म प्रकाशित गरिने कार्यक्रम रहेको छ । उम्मेदवारले नाम फिर्ता लिन असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय दिइएको छ । त्यही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ । सोही दिन बेलुका ३ बजेदेखि ६ बजेसम्म निर्वाचन चिन्ह प्रदान गरिने छ ।
निर्वाचन आयोगको कार्यालयका अनुसार निर्वाचन मतदान कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । यस उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्दसुचीमा नाम समावेश भएका व्यक्तिहरू उम्मेदवार बन्न नपाउने कानुनी प्रावधान रहेको जानकारी निर्वाचन आयोगले बताएको छ ।
निर्वाचन आयोगका अनुसार प्रचार प्रसार निषेध अवधि मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडि अर्थात् २०८२ कार्तिक १४ गते राति १२ बजेदेखि लागु हुनेछ । सबै मतदान केन्द्रमा मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपश्चात् मतगणना कार्य सुरु गरिनेछ ।
निर्वाचन आयोगले निर्वाचनको कार्यक्रमसहित तालिका सार्वजनिक गरेपनि उपनिर्वाचनका लागि राष्ट्रिय जनमोर्चाबाहेक अन्य कुनैपनि दलहरुले उम्मेदवार घोषणा गरेका छैनन् । सम्भावित नेताहरुको चर्चा चलेपनि दलहरुले आधिकारिक उम्मेदवार अझै घोषणा गरेका छैनन् ।









प्रतिक्रिया दिनुहोस्