नेपालगन्ज ।
नेपालगन्ज वडा नम्बर १८ मा नेपाली काँग्रेसको पार्टी वडा कार्यालय भवनको निर्माण अहिले दु्रतगतिमा अघि बढिरहेको छ । नेपाली काँग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री एवम् संविधानका पिता स्वर्गीय सुशील कोइरालाको स्मृतिमा भवन निर्माण गरिएको हो । ‘सुशील कोइराला स्मृति भवन’ नाम दिइएको उक्त भवन तीन तल्लाको हुनेछ । तीन तल्ला निर्माणका लागि ६० लाख खर्च हुनेछ ।
प्रारम्भमा पहिलो चरणमा एक तला भवन निर्माण हुनेछ । पहिलो तल्लाका लागि करिब २५ लाख रकम विनियोजन गरिएको पार्टी वडा उपसभापति राजाराम सुवेदीले जानकारी दिए । पहिलो तल्लामा सभापति कोठा एक, कार्यालय सचिव कोठा एक, बैठक कक्ष एक वटा रहने छ। भवन निर्माणका लागि पार्टीका क्रियाशिल सदस्य सोही वडा निवासी रामकुमार वर्माले झण्डै ४० लाख मूल्य बराबरको साढे आठ धुर जग्गा दान दिएका छन् ।
उपसभापति सुवेदीका अनुसार, भवन निर्माणका लागि पार्टी वडा सभापति जगदिश कुर्मीको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ । भवन निर्माणका लागि सोही वडा लगायत अन्य स्थानका पार्टी सदस्य तथा शुभचिन्तक तथा नेपाली काँग्रेसवाट जनप्रतिनिधिमा जितेकाहरुले स्वय्रस्फुर्त आर्थिक तथा जिन्सी सहयोग गर्दै आएका छन् ।सुवेदीका अनुसार, भवन निर्माणका लागि बाँके राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले मोरङ, गिट्टी, मख्खन धामीले ५० हजार, डा. केशर खनालले ११ हजार, नवराज शाहले २५ हजार र नयाँराम पौडेलले रु ११ हजार सहयोग गर्नुभएको छ ।
त्यस्तै का पार्टी अन्य क्रियाशिल सदस्य, साधारण सदस्य तथा शुभेक्छुकहरुवाट पनि भवन निर्माणका लागि निरन्तर सहयोग प्राप्त भइरहेको छ । ‘भवन निर्माणका लागि एकमुष्ट ठूलो आकारको रकम अहिलेसम्म कतैवाट पाइएको छैन । निर्माण समितिका सदस्यहरुले आप्नो जिम्मेवारीमा उधारोमा आवश्यक सामग्री खरीद गरी भवन निर्माण गरिरहेका छन्’—उपसभापति सुवेदीले भने ।
संघीय सरकारका साथै प्रदेश र स्थानीय सरकारसंग पनि भवन निर्माणका लागि आर्थिक सहयोगको प्रस्ताव छिटै लिएर जाने बताउदै उपसभापति सुवेदीले यसै आर्थिक वर्षभित्र तीनै तल्ला निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताए । सुवेदीका अनुसार, २०८१ चैत १० गते एक समारोहका बीच ‘सुशील कोइराला स्मृति भवन’ निर्माणको शिलान्यास गरिएको थियो । पार्टीका प्रदेश सभापति अमरसिंह पुनले भवनको शिलान्यास गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्