नेपालगन्ज ।
जल तथा मौसम विज्ञान विभागले आगामी ३ दिन धेरै स्थानहरुमा वर्षाको संभावना रहेकोले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । तीन दिनसम्म देशभर अत्यधिक वर्षा भई नदीहरुमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने विभागको पूर्वानुमान छ । पश्चिममा राप्ती, बबई र महाकाली नदीको तटीय क्षेत्रमा बाढी आउनसक्ने भएकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
राप्ती र बबई तटीय क्षेत्रमा मध्यमस्तरको प्रभाव पर्ने सम्भावना भएपनि महाकाली क्षेत्रमा साउन ४ गते बेलुकादेखि ५ गते मध्यान्हसम्म बढी सतर्कता अपनाउन आवश्यक रहेको जलतथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार श्रावण ३ गते साँझदेखि ४ गते बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुनेछ । पूर्वी नेपालमा कोशी, तमोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काई लगायतका नदीहरूमा बाढी आउन सक्ने सम्भावना अत्याधिक रहेको जनाइएको छ ।
पूर्वी नेपालबाट सक्रिय हुने मौसमी प्रणाली पश्चिम नेपालतर्फ सर्ने जनाइएको छ । चार गते बेलुका बागमती नदीमा बाढी आई काठमाडौँ उपत्यका र तल्ला तटीय क्षेत्र प्रभावित हुनेछन् र ४ गते बेलुकादेखि ५ गते दिउँसोसम्म महाकाली नदी र त्यसको तटीय क्षेत्रमा बाढी आउनसक्ने सम्भावना उच्च रहेको जानकारी दिइएको छ । आइतबार देशभर साधारणतया बदली रहने र कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आइतबार राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । ५ गते सोमबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
सोमबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको पनि विभागले जनाएको छ । वर्षाका कारण शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने तथा हावाहुरीले समेत आंशिक असर पु¥याउन सक्ने चेतावनी विभागको छ ।
खल्लाझगडियामा नदी कटान क्षेत्रको निरीक्षण
जनताको तटबन्ध आयोजना कार्यालयका उच्च अधिकारी र प्राविधिकहरुले बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुरस्थित खल्लाझगडियामा नदी कटान क्षेत्रको स्थलगत निरीक्षण गरिेका छन् । शनिबार जनताको तटबन्ध आयोजना कार्यालय लमहीका प्रमुख डा. नारायणप्रसाद सुवेदी र प्राविधिकसहितको टोलीले स्थलगत निरीक्षण गरेको हो । उक्त निरीक्षणमा नेपाली काँग्रेस बाँक क्षेत्र नम्बर १ का सभापति पोषण केसी, प्रगन्ना कुलो सिँचाइ प्रणाली मूल समन्वय समितिका सदस्य तिलक न्यौपानेलगायत सहभागी थिए ।
निरीक्षणका क्रममा आयोजनाका प्रमुख डा. सुवेवदीले तत्कालका लागि आपतकालीन रुपमा बाढीको कटान रोक्न बाँस र बोराको सहायताले अस्थायी तटबन्ध निर्माणको काम गरिएको बताए । हरेक वर्षको बाढीले कटान गर्दै आएको सल्लाझगडियामा राप्ती नदी किनारमा प्लाष्टिकको बोरामा माटो भरेर नदी किनारमा राख्ने काम गरिएको छ ।
तर, स्थानीय बासिन्दाले उक्त क्षेत्रमा बलियो तटबन्ध बनाउन माग गरेका छन् । स्थानीयवासीहरु बाढीको डरले चिन्तामा रहेको बताउँछन् । अहिले गरिएको अस्थायी व्यवस्थाले तत्कालका लागि बस्ती र जनधन जोगाउने अपेक्षा गरिएपनि विश्वस्त हुन नसकिने उनीहरुको भनाइ छ ।
खल्लाझगडियामा राप्ती नदीले कटान गर्दा बाँकेको राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ६ को ढलैया, वडा नम्बर ७ को पिप्रहवा, खल्ला झगडिया, देवपुरवा, नरैनापुर गाउँपालिकाको वडा नम्बर ६ स्थित सोनवर्षा, गंगापुर, भोजभगवानपुर तथा डुडुवा गाउँपालिकाको पूर्वी भेगका बस्तीहरु बाढीको जोखिममा रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्