कोहलपुर (बाँके) ।
संयुक्त दलीय मोर्चा कोहलपुरले कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यलाई ध्यानाकर्षण गराएको छ । कोहलपुर नगरपालिकाको १६औँ नगर सभाबाट सत्तासिन दल सम्बद्ध प्रतिष्ठानलाई जग्गा दिने निर्णय गरेको भन्दै ध्यानाकर्षण गराएको हो । शुक्रबार मोर्चाले नगर प्रमुख आचार्यलाई भेटेरै सो निर्णय फिर्ता लिन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘२०८१÷९÷२६ गते बसेको बैठकको निर्णय नम्बर ३२ मा सत्तासिन दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले)लाई पार्टी कार्यालय सञ्चालनार्थ सुशील कोइराला स्मृति प्रतिष्ठानलाई रझेना ४ ‘ख’ कि.न. ९८ बाट ३ कट्ठा जमिन र मदन आश्रित स्मृति प्रतिष्ठानलाई चटार ३ ‘क’ कि.न. ९०१ बाट २ कट्ठा १७ धुर सार्वजनिक जग्गा वितरण गर्ने प्रकृया अगाडी बढाएकोप्रति हामी तपशिलका राजनैतिक दलहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।’
कोहलपुर नगरपालिकाभित्र क्रियाशिल विभिन्न राजनैतिक दलका तर्फबाट विज्ञप्तिसमेत जारी गरेको स्मरण गराउँदै सार्वजनिक सम्पत्ति प्रतिष्ठानका नाममा वितरण गर्ने प्रकृया कुनै पनि हालतमा स्वीकार गर्न नसकिने प्रष्ट पारिएको छ । कोहलपुरको विकास निर्माण र सार्वजनिक हितका लागि निरन्तर सहकार्य गर्दै आएकोसमेत ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
सार्वजनिक सम्पत्ति प्रतिष्ठानका नाममा वितरण गर्नु कानुनी रुपमासमेत विधिसम्मत नभएकाले उक्त प्रतिष्ठानका नाममा जग्गा वितरण गर्ने प्रक्रिया अविलम्ब फिर्ता लिन आग्रह गरिएको छ । ध्यानाकर्षणपत्र बुझ्दै नगर प्रमुख आचार्यले दलहरुले उठाएका जायज मागहरुको उचित सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्