गौरिगंगाका प्रमुख प्रशासकीय अधिकृत जोशीमाथि हातपात



शेरबहादुर ऐर । कैलाली ।

कैलालीको गौरीगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि अभद्र व्यवहार तथा कुटपिट भएको छ । प्रमुख प्रशासकीय अधिकृत जोशीलाई नगर प्रमुख देविदत्त कँडेलका सहयोगी उमेश जोशीले अभद्र व्यवहार तथा कुटपिट गरेका हुन । नगर प्रमुख कडेँलका ज्वाइँसमेत रहेका सहयोगी उमेशले बिहीबार कुटपिट गर्दासमेत प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।

कार्यकक्षभित्रै कार्यालय प्रमुखमाथि कुटपिट भएपनि प्रहरीले जाहेरी नआएको भन्दै उमेशलाई पक्राउ गरेको छैन । कार्यालय प्रमुख जोशीमाथि बिहीबार अभद्र व्यवहार र कुटपिट भएपछि शुक्रबार प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसँग कर्मचारी संगठनहरुले कारबाहीको माग गर्दै छलफल गरे । कर्मचारीको सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु स्थगित गरिएको कर्मचारीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

‘साउन १ गतेका दिन गौरिगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि कार्यकक्षभित्रै भएको कुटपिट तथा अभद्र व्यवहारप्रति हामी यस नगरपालिकाका सबै कर्मचारीहरू गहिरो दुःख प्रकट गर्दै घोर भत्र्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक कार्यालयको मर्यादा भंग गर्ने यस्ता अमानवीय क्रियाकलापले सम्पूर्ण कर्मचारी समुदायमा भय, त्रास र असुरक्षाको वातावरण सिर्जना भएको छ। कार्यालय तथा कार्यकक्षजस्तो सुरक्षित ठानिएको स्थानमै कर्माचारीमाथि कार्यालय समयमा नै आक्रमण हुनु निन्दनीय छ ।

यसले राज्यको कर्मचारी सुरक्षाप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ । भविष्यमा यस्ता लज्जास्पद र अमर्यादित अमानवीय प्रकृतिका क्रियाकलाप गर्ने दुस्साहस नगरियोस् । यस घटनाको तत्काल, निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गरी कर्मचारीहरुलाई सुरक्षित तबरले काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ ।’ नगर प्रमुख कँडेल र प्रमुख प्रशासकीय अधिकृतबीच केही समयदेखि विवाद रहेको बताइएको छ ।

नगर प्रमुखका सहयोगी उमेशले प्रमुख प्रशासकीय अधिकृत जोशीलाई कुटपिट गर्नुअघि नगर प्रमुख कँडेलले जोशीमाथि अपशब्दसहित विवाद गरेका थिए । नगर प्रमुखले भनेको नमानेको आवेगमा उनीमाथि कुटपिट भएको कर्मचारीहरु बताउँछन् । उनलाई पटक पटक कार्यकक्षबाट आफ्नो कोठामा नगर प्रमुखले बोलाउँदा नगएपछि सहयोगी उमेश कार्यकक्षमै छिरेर कुटपिट गरेका थिए ।

तत्काल पक्राउ गर्न प्रजिअको निर्देशन

शुक्रबार प्रशासकीय अधिकृत जोशीसँग छलफल गरेपछि कैलाली प्रमुख जिल्ला अधिकारी गोगन हमालले कर्मचारीमाथि अभद्र व्यवहार र कुटपिट गर्ने उमेशलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए । कर्मचारीहरुको ज्ञापनपत्र बुझदै उनले कुनै पनि बहानामा कर्मचारीलाई कुटपिट गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने बताए ।

उनले भने, ‘कार्यकक्षमै कर्मचारीमाथि कुटपिट हुनु दुःखद घटना हो । यस्ता गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने छ । यो घटनाले कर्मचारीलाई कार्यकक्षमा गएर काम गर्न असुरक्षा भएको छ ।’ प्रमुख प्रशासकीय अधिकृत जोशीले उमेशमाथि कारबाहीको माग गर्दै शुक्रबार कैलाली प्रहरीमा जाहेरी दर्ता गराएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ३ गते शनिबार