हतियार, लागूऔषध र जरायोको सिङसहित दुई जना पक्राउ



सुर्खेत ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले चाइनिज हतियार र ठुलो मात्रामा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।‎ पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका छन् । सुर्खेत प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार वीरेन्द्रनगर–८ स्थित कृष्ण मन्दिर नजिकैको एक घरबाट उनीहरूलाई पक्राउ गरिएको हो । ‎

प्रहरीले उनीहरूको साथबाट एक थान सेमीअटोमेटिक चाइनिज पेस्तोल, सोही पेस्तोलमा लाग्ने दुई थान म्यागजिन र १२ राउन्ड गोली बरामद गरेको छ । ‎यसैगरी, विभिन्न साइजका चार थान खुकुरी, दुई थान चक्कु, एक थान बञ्चरो र एक थान स्टिल स्टिक पनि बरामद भएको प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए । प्रहरीले ठुलो परिमाणमा लागूऔषधसमेत बरामद गरेको उनले जानकारी दिए । ‎जसमा १४ सय २६ ट्याब्लेट ट्रामाडोल र नाइट्राजेपाम रहेको छ ।

प्रहरीले प्रतिबन्धित वन्यजन्तु जरायोको सिङ एक थान पनि बरामद गरेको प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए । उनका अनुसार ‎एक स्थानीय व्यक्तिले प्रहरी कन्ट्रोलरुममा आएर आफ्नो टोलमा केही शङ्कास्पद गतिविधि भइरहेको र केही युवाहरूले लागूऔषधको कारोबार तथा हतियार बोकेर हिँड्ने गरेको सूचना दिएका थिए । ‎‎सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई बिहीबार बेलुका ९ः०० बजेतिर पक्राउ गर्न सफल भएको उनले बताए ।

उनीहरुले आफ्नो व्यक्तिगत सुरक्षा र अन्य समूहसँगको झैझगडाको लागि यस्ता हतियारहरू प्रयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस्तै ‎पक्राउ परेका विधान शाही ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त रहेको पनि खुलेको छ । शाहीमाथि ०७८ साल भदौमा नीरज श्रेष्ठलाई खुकुरी प्रहार गरेको आरोपमा मुद्दा दर्ता भएको थियो ।

‎सोही घटनामा संलग्न अन्य तीन जना पक्राउ परेपनि शाही फरार रहँदै आएका थिए ।‎‎ प्रहरीले पक्राउ परेका दुवै जनालाई लागूऔषध, हतियार तथा खरखजाना र वन्यजन्तुसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ । उनीहरुले नेपालगन्ज सीमावर्ती क्षेत्रबाट लागूऔषध खरिद गरी सुर्खेतमा दसौँ गुणा महँगोमा बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकोे छ । यसबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ३ गते शनिबार