तिलगाउँवासीले गरे गाउँ छोड्ने निर्णय



हुम्ला ।

हिमपहिरोको उच्च जोखिम बढेपछि नाम्खा गाउँपालिका–६ को तिलगाउँवासीले गाउँ छाड्ने सामूहिक निर्णय गरेका छन् । हिमपहिरोले गाउँ जोखिममा परेको र अब त्यहाँ बस्न उपयुक्त नहुने निष्कर्ष निकाल्दै तिलगाउँवासीले यस्तो निर्णयमा गरेका हुन् । लिमीको तिलगाउँमा हाल सुरक्षित स्थानमा पाल टाँगेर बस्दै आएका छिरिङ छिमेल तामाङले हिमपहिरो पीडित सबैले गाउँ छोडेर जाने सामूहिक निर्णय गरेको बताए ।

गाउँमा रहेका ४५ जनाको उपस्थितिमा बसेको तिलवासीको बैठकले असुरक्षित भएको महसुस गर्दै अब गाउँ छाडेर काठमाडौँ जाने निर्णय गरेका हुन् । तिलगाउँ हिमपहिरो र पहिरोको उच्च जोखिममा रहेको स्थानीयले निष्कर्ष निकालेका छन् । आगामी कात्तिक मङ्सिर महिनापछि गाउँ नै छोडेर जाने निर्णय गरिएको अर्का स्थानीय छिरिङबा लामाले बताए ।

डर र त्रासले गर्दा आफूहरु गाउँ छोड्ने निर्णय गर्न बाध्य भएको उनले बताए । घरमा ताला लगाएर जग्गा बाँझो राख्ने निर्णय गरिएपनि पशुबस्तु भने कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता रहेको उनको भनाइ छ । त्यसैगरी नाम्खा गाउँपालिका ६ का अध्यक्ष पाल्जोर तामाङले गाउँ छोड्न नमान्ने तिलगाउँका केही घरधुरीहरु पनि गत जेठमा खसेको हिमपहिरोको डरले अब गाउँ छोडेर जाने निर्णय गर्न बाध्य भएकोे जानकारी दिए ।

तिलगाउँ खाली हुने निश्चित भएपछि वडाले प्रयास गर्दा नमानेको र अब गाउँपालिका र प्रदेशले केही सुरक्षित महसुस हुने खालको योजना ल्याए रोक्न सकिने उनको भनाइ छ । तिलगाउँमा हाल २३ घरधुरी बसोबास गर्दै आएका छन् । गत जेठ १ गते हिमपहिरो जाँदा गाउँ जोखिममा परेपछि हाल स्थानीय गाउँपारीको सुरक्षित चौरमा बस्दै आएका छन् । बिहान घरमा आउने काम गर्ने तर रात परेपछि पालमा गएर सुत्नुपर्ने बाध्यता छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २ गते शुक्रबार