जाजरकोट ।
जिल्लाका युवाले एक कप चिया अभियान सञ्चालन गरी आम्दानी भएको ४ लाख ६६ हजार रकम बिरामीको उपचारका लागि सहयोग गरेका छन् । जाजरकोट सदरमुकाम खलङ्गाका युवाले एक कप चिया अभियान सञ्चालन गरेका हुन् । उक्त अभियानबाट उठेको रकम भेरी नगरपालिका–४ का महेन्द्रकुमार भँडेलको उपचारका लागि सहयोग गरेका हुन् ।
मानवसेवा, लागूऔषध दुव्र्यसनी, सरसफाइको अभियन्ता बनेका युवाले सकारात्मक सन्देश प्रवाह गरी समाज रूपान्तरण गर्न एक कप चिया अभियान सञ्चालन गरेका थिए । करिब २०÷२५ जना युवाको समूहले एक कप चिया अभियानबाट उठेको सानो सहयोग ठुलो सेवामा लगानी गरेका छन् । भेरी नगरपालिका–४ का महेन्द्रकुमार भँडेल बचाउ अभियान चलाएका युवाले एक कप चिया अभियानबाट ४ लाख ६६ हजार ५७० रुपैयाँ आर्थिक सहयोग सङ्कलन गरेका थिए ।
ब्लड प्रेसरका कारण शिक्षण अस्पताल नेपालगन्जमा उपचारमा रहेका भँडेल बचाउ अभियान सञ्चालन गरेका युवाले संकलन भएको रकम पीडित परिवारलाई हस्तान्तरण गरेका छन् । भेरी नगरपालिका–४ का युवा अभियन्ता अनिशकुमार कार्कीको नेतृत्वमा यो अभियान सफल भएको हो । विगत केही वर्षदेखि सामाजिक अभियानका रूपमा सरसफाइ, मानवसेवा र कुलतमा लागेका युवालाई सकारात्मक सन्देश दिने गरेको उनले बताए ।
समाज रूपान्तरणका लागि व्यवस्था बदलिएपनि जनताको अवस्था नबदलिएको भन्दै यसमा युवाको भूमिका आवश्यकता रहेको अभियन्ता कार्कीले बताए । उनले भने, ‘आर्थिक अवस्था कमजोर भएको र एक जनाको रोजगारीका भरमा परिवार पाल्दै आएका बिरामीको उपचारमा सकस थियो । यस्तो बेला युवाहरु उनको सहारा बनेका छन् ।’
उनका अनुसार पीडितको सहयोगका लागि जाजरकोट सदरमुकाम, भेरी नगरपालिका–४ गैरीखाली, रामजानकी टोल, वडा नं. ३ ठाँटी बजारलगायत ५ वटा स्थानमा महेन्द्रकुमार भँडेलका लागि एक कप चिया अभियान सञ्चालन गरिएको थियो । अभियान सञ्चालन भएको देखेर देश तथा विदेशमा रहेका महानुभावले सहयोग गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्