खजुरा (बाँके) ।
बाँकेको खजुरा गाउँपालिकाअन्तरर्गत रहेको नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद शाखाबाट) २१ हजार बढीले सेवा प्राप्त गरेका छन् । आयुर्वेद शाखा प्रमुख किरण खनालका अनुसार गत आर्थिक वर्ष २०८१–०८२ को अन्त्यसम्म २१ हजार २ सय १८ जनाले सेवा लिएका हुन् ।
पछिल्ला दिनमा खजुरा क्षेत्रमा आयुर्वेद सेवातिर नागरिकको आर्कषण बढ्दै गएको छ ।
आयुर्वेद शाखाले एक वर्षभित्र शाखामार्फत ७ हजार ५ सय २१ जना बिरामीको स्वास्थ्य परीक्षण गरेको जनाएको । १ हजार २ सय ३ जना ज्येष्ठ नागरिकलाई सेवा प्रदान गरिएको शाखाले जनाएको छ । यस्तै ६ महिनाभित्रका २८४ सुत्केरी आमाहरुलाई दुग्धवद्र्धक औषधि वितरण गरिएको छ । आयुर्वेद शाखामा १ हजार ९ सय २५ लाई पूर्वकर्म, पञ्चकर्म थेरापी सेवा प्रदान गरिएको छ । योग सेवाअन्तर्गत ३ हजार ६ सय २८ ले शाखामा आएर सेवा लिएका छन् ।
आयुर्वेद स्वास्थ्य जीवनशैलीअन्तर्गत १ हजार ६ सय ९६ जनाले सेवा पाएका छन् । स्थानीयस्तरमा पाइने जडिबुटी तथा योगा शिक्षा कार्यक्रम विद्यालयहरुमा सञ्चालन गरिएको शाखा प्रमुख खनालले जानकारी दिए । शाखाले ०८१–०८२ मा लागूऔषध दुव्र्यसनी रोकथाम, स्वास्थ्य जीवनशैली तथा आत्महत्या न्यूनीकरण अभियान विद्यालयस्तरमा सञ्चालन गरिएको जनााएको छ । जसमा २ हजार ५४८ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
स्वास्थ्य जीवनशैलीमार्फत शाखाले १ हजार ५ सय जनालाई सेवा प्रदान गरेको सार्वजनिक गरिएको डाटामा उल्लेख छ । शाखाले ५७८ जनाको निःशुल्क रुपमा सुगर परीक्षणसमेत गरेको छ । आयुर्वेद स्वास्थ्य जीवनशैली, योग शिक्षा तालिम २८ जना शिक्षकहरुलाई प्रदान गरिएको थियो । विद्यार्थी र अभिभावक माझमा सहजै पुग्ने भएकाले शिक्षकलाई तालिम दिइएको शाखाले जनाएको छ । गृहिणी, महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई भान्सा सुधार कार्यक्रम सञ्चालन गरिएको छ ।
उक्त तालिमबाट ४० जना स्वंयसेविकाहरुलाई पोषणयुक्त भान्सा निर्माणका लागि सिकाइ प्रदान गरिएको शाखा प्रमुख खनालले जनाए ।
नसर्ने रोग न्यूनीकरण अभियानसमेत सञ्चालन गरिएको थियो । नसर्ने रोग न्यूनीकरण अभियानअन्तर्गत २६७ जनालाई सेवा प्रदान गरिएको शाखा प्रमुख खनालले जानकारी दिए । खनालका अनुसार सेवाबाट लाभान्वित भएका धेरै बिरामीहरूले प्राकृतिक उपचार विधिप्रति भरोसा बढेको बताएका छन् ।
विशेषगरी ज्येष्ठ नागरिक, सुत्केरी महिला र दीर्घरोगीहरूका लागि सेवा उपयोगी देखिएको छ । खजुरा गाउँपालिकाले पनि सेवा प्रवाहमा सक्रिय भूमिका खेल्दै आएको छ । आगामी दिनमा सेवा विस्तार गरी आयुर्वेद सेवा पु¥याउने तयारी भइरहेको जनाइएको छ । साथै, विद्यालयस्तरमा योग अभ्यासलाई नियमित बनाउने योजनासमेत रहेको शाखाले जनाएको छ । आधुनिक र परम्परागत चिकित्सा प्रणालीबीच समन्वय गरी गुणस्तरीय सेवा प्रवाह गरिँदै आएको शाखाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्