किसानलाई अनुदानमा ई–लोडिङ रिक्सा वितरण



कोहलपुर (बाँके) 

जिल्लाको बैजनाथ गाउँपालिकाले किसानलाई ई–लोडिङ रिक्सा वितरण गरेको छ । किसानसँग पालिका प्रमुख कार्यक्रमअन्तर्गत ७० प्रतिशत अनुदानमा रिक्सा वितरण गरिएको हो । कृषि विकास शाखाका प्रमुख प्रमोदकुमार विश्वकर्माका अनुसार कार्यक्रमअन्तर्गत बैजनाथ गाउँपालिका क्षेत्रका ११ जना व्यावसायिक किसानलाई रिक्सा वितरण गरिएको हो ।

उक्त कार्यक्रमका लागि ५३ जनाले आवेदन दिएका थिए । आवेदकहरुमध्येबाट छनौट गरेर ११ जनालाई वितरण गरिएको शाखा प्रमुख विश्वकर्माले बताए । उनीहरुलाई ७० प्रतिशत अनुदानमा रिक्सा वितरण गरिएको विश्वकर्माको भनाइ छ । गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले किसानहरुको उत्पादन ढुवानीमा सहजता ल्याउनको लागि सहज होस् भन्ने उद्देश्यले अनुदानमा रिक्सा वितरण गरिएको हो ।

गाउँपालिकाले कृषि क्षेत्रमा यान्त्रीकरण, प्रविधिको प्रयोग र नवप्रवर्तनलाई प्राथमिकता दिएको अध्यक्ष शाहीले बताए । ‘पालिकाले कृषिलाई प्राथमिकता दिएको छ । यान्त्रीकरणमार्फत किसानको श्रम कम गर्ने उद्देश्य रहेको छ,’ अध्यक्ष शाहीले भने । स्थानीय सरकार जनताको आवश्यकता र आवाजमा आधारित भएर काम गरिरहेको उनको भनाइ छ । कार्यक्रममार्फत कृषि र पशु सेवामा पर्याप्त लगानी गरिएको उनले बताए ।

गाउँपालिकाले आगामी दिनहरूमा थप प्रविधियुक्त उपकरण, पशु सेवा विस्तार, सिँचाइ प्रणाली सुधार र व्यावसायिक कृषि प्रवद्र्धनका लागि कार्यक्रमहरू अघि ल्याउने तयारी गरिरहेको बताइएको छ । कृषि र पशुपालन क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले बैजनाथ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि ६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २ गते शुक्रबार