कोहलपुर ।
कोहलपुर नगरपालिकाका जनप्रतिनिधिको एउटै स्वर छ, कोहलपुरलाई जसरी पनि ‘शैक्षिक हब’ बनाउएर छाड्ने । जनप्रतिनिधिको अठोट र लगानीले पनि बिस्तारै कोहलपुर शैक्षिक क्षेत्रमा फड्को मार्दै गरेको देखिन्छ । त्यसको एक ज्वलन्त उदाहरण हुन् विद्यार्थी सिर्जना डिसी । एसईई २०८१ को नतिजामा उनी कोहलपुर नगरपालिका मात्र नभई ४ जिपिए ल्याउने बाँके जिल्लाकै एक मात्र विद्यार्थी हुन् ।
यसले पनि कोहलपुर शैक्षिक क्षेत्रमा फड्को मारिरहेको अनुमान गर्न सहजै सकिन्छ । कोहलपुर–६ स्थित बाल विद्या सेकेन्डरी स्कुलबाट सिर्जना २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएकी थिइन् । उनले आफूसँगसँगै कोहलपुरको समेत नाम उँचो राख्न सफल भएकी हुन् । शैक्षिक रुपमा पनि कोहलपुर बलियो रहेको दाबीसहित उनले प्रमाण पेश गरिन् । उनलाई विद्यालयले बाँके हुँदै बर्दियासम्म बजार परिक्रमासमेत गराएको थियो ।
नगरपालिकाले समेत उनलाई पुरस्कार तथा सम्मान ग¥यो । सिर्जनाले उच्च शिक्षा ‘प्लस टु’ अध्यानको लागि कोहलपुरमा रहेको केएमसी सेकेन्डरी स्कुल रोजेकी छिन् । उनलाई निःशुल्क पठनपाठनको लागि विभिन्न जिल्ला र काठमाडौँसम्मका ठुला कलेजहरुले समेत अफर गरेका थिए ।
तर, उनले आफ्नै ठाउँमा पढ्ने गरेको निर्णयलाई सबैले सम्मान व्यक्त गरेका छन् । बिहीबार कोहलपुर नगरपालिका नगर प्रमुख पूर्णप्रसाद आचार्यले समेत भेटेर बधाईसमेत दिएका छन् । बाह्य जिल्लाभन्दा कोहलपुरमा रहेका कलेज रोजेको भन्दै उनले खुसी व्यक्त गरेका हुन् ।
उनले भेटपश्चात् फेसबुक वालमा लेखेका छन्, ‘बाँके जिल्लाकै इतिहासमा पहिलो पटक कोहलपुरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ जिपिए ल्याउन सफल मेधावी विद्यार्थी सिर्जना डिसीले कक्षा ११ र १२ कोहलपुरमै पढ्ने निर्णय गर्नुभएकोमा हार्दिक बधाई छ । कोहलपुरबाहिरका दर्जनौँ विद्यालय तथा कलेजहरुले निःशुल्क उच्च शिक्षा (बसोबास व्यवस्थापनसमेत) पढाउने अनुरोध गर्दा पनि कोहलपुरमै पढ्ने वातावरण भएको भन्दै कोहलपुरकै कोहलपुर मोडल कजेलमा व्यवस्थापनतर्फ पढ्ने तपाईँको निर्णयले कोहलपुरलाई शैक्षिक केन्द्रका रुपमा विकसित गर्ने संकल्पमा थप हौसला बढाउनु भएकोमा कोहलपुर नगरपालिकाको तर्फबाट प्रत्यक्ष भेटमार्फत हार्दिक आभारसहित सुखद भविष्यको कामना गरियो ।’









प्रतिक्रिया दिनुहोस्