घरमाथि रुख ढल्दा परिवारको विचल्ली



कोहलपुर (बाँके) ।

जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर १३ सिम्रवा गाउँको एक घरमा रुख ढल्दा पूर्णरुपमा क्षति पुुगेको छ । साउन १ गते साँझ ५ बजेति सिम्रवा गाउँमा जामुनको रुख घरमाथि ढल्दा पूर्णरुपमा क्षति पुगेको हो । कोहलपुर नगर प्रहरी प्रमुख बीरबहादुर थापाका अनुसार सिम्रवा गाउँका टिकाराम ओलीको घरमा जामुनको रुख ढलेको थियो ।

रुख ढल्दा ओलीको घरमा पूर्णरुपमा क्षति पुगेको छ । घरमा पूर्णरुपमा क्षति पुगेपनि मानवीय र चौपायाको क्षति नभएको नगर प्रहरी प्रमुख थापाले बताए । घरमा क्षति पुगेपछि लगत्तै नगर प्रहरीको टोली पीडितको घरमा पुगेको थियो । नगर प्रहरीको टोलीले रुख हटाई उद्दार गरिएको उनले बताए ।

‘सिम्रवा गाउँमा एक व्यक्तिको घरमा रुख ढलेको रहेछ । रुख घरमै ढल्दा क्षति पुगेको छ । नगर प्रहरी गरेर उद्दार गरिएको छ । मानवीय क्षति भएन,’ उनले भने । उद्धार गरेपछि पीडित परिवारलाई तत्काल १ थान त्रिपाल उपलब्ध गराइएको छ । वडा अध्यक्ष डम्बरबहादुर खड्काको उपस्थितिमा त्रिपाल वितरण गरिएको थियो ।

उनले विपद्को समयमा स्थानीय सरकार साथमा छ भन्ने सन्देश दिइएको बताए । कोहलपुर नगर प्रहरीले कोहलपुर नगरवासीमा घर छेउमा रहेका जोखिमयुक्त रुख, पोल तथा अन्य कुनै संरचना भए तत्काल व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २ गते शुक्रबार