जुम्ला ।
जिल्ला अदालत जुम्लाले गत आर्थिक वर्षमा ६८.४९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । जिल्ला अदाललतले आयोजना गरेको अन्तक्र्रिया तथा सार्वजनिक प्रगति विवरणमा गत आर्थिक वर्ष २०८१–०८२ का ३११ मुद्दामध्ये २१३ मुद्दा फछ्र्यौट भएको उल्लेख छ । अदालतका श्रेस्तेदार महेन्द्र पौडेलका अनुसार यस वर्ष १९२ वटा मुद्दा दर्ता भएका थिए भने अघिल्लो वर्षको जिम्मेवारी सरेका ११९ वटा मुद्दा थिए ।
उनका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा ६१.८६ प्रतिशत फछ्र्यौट भएका छन् । यसैगरी आर्थिक वर्ष २०७९÷०८० मा ६०.६४ प्रतिशत मुद्दा पछ्र्यौट भएका छन् । जिल्ला न्यायाधीश आनन्दप्रसाद पन्तले न्याय सेवा सत्य र तथ्यको आधारमा भएको बताए । अदालतले गरेका कामका विषय, समस्याका विषयमा जानकारी दिँदै अदालतले बनाएको कार्ययोजनाका अनुसार काम भइरहेको बताए ।
न्यायाधीश पन्तले अदालतमा भएका कामको माग बमोजिम सूचना उपलब्ध गराउन अदालतको ढोका खुला भएको उल्लेख गरे । अहिले जिल्ला अदालतको कार्ययोजना अनुसार म्याद तामेलीसमेत अनलाइन प्रणालीमार्फत गर्न थालिएको छ । यसैगरी पेसी सुची डिस्प्ले बोर्डको प्रयोग, असमर्थ तथा विपन्न व्यक्तिलाई निःशुल्क वैतनिक कानुन व्यवसायीको व्यवस्था, मुद्दाको काम कारबाहीका लागि निःशुल्क निवेदनको ढाँचा उपलब्धसमेत गरिँदै आएको छ ।
अदालतका अनुसार बालबालिकाका भने सवै मुद्दा फछ्र्याैट भएका छन् । जिल्ला अदालत जुम्लाले बालबालिकाका जम्मा १८ वटा मुद्दामा ८ वटा नयाँ मुद्दा र पुराना १० वटा मुद्दामध्ये सबै फछ्र्यौट भएको जानकारी दिएको छ । सरकारी फौजदारी मुद्दाको विषयगत लगत फछ्र्यौटमा कर्तव्य ज्यानका ८ मध्ये ६ वटा मुद्दा फछ्र्यौट भएका छन् । ज्यान मार्ने उद्योगका ११ मध्ये ८ वटा फछ्र्यौट भएका छन् ।
जबरजस्ती करणीका ३८ मध्ये ३० वटा, चोरीको १३ मध्ये ९वटा, लागूऔषधको ३३ मध्ये २४ वटा मुद्दा फछ्र्यौट भएको छ । अपराधिक उपद्रवको ६ वटामा सबै फछ्र्यौट भएका छन् । यसैगरी बालयौन दुव्र्यवहार सम्बन्धित ५ दर्ता भएकामध्ये ५ वटै फछ्र्यौट भएका छन् । यसैगरी अदालतले मेलमिलापमा राख्न मिल्ने ५४ वटा मुद्दा पठाएकोमा ११ वटा मेलमिलाप भएका जानकारी गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्