फाप्लामा बन्दै अन्तर्राष्ट्रिय क्रिकेट मैदान



कैलाली ।

कैलालीको धनगढीस्थित फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम निर्माणको बाटो खुलेको छ । कानुनी प्रक्रिया सम्पन्न भएसँगै अब परियोजना निर्माणतर्फ अगाडि बढेको हो । वन तथा वातावरण मन्त्रालयले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण समितिले पेस गरेको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनलाई स्वीकृति प्रदान गरेपछि यो निर्माण प्रक्रिया अगाडि बढेको हो ।

ईआईए स्वीकृतिसँगै परियोजनालाई आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया सम्पन्न भएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले जानकारी दिए । ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया सम्पन्न भई परियोजना निर्माणमा ब्रेक थ्रु भएको छ,’ शाहीले भने, ‘नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले ईआईए स्वीकृत गरेसँगै परियोजनाको खाकाले मूर्तरुप पाउँनुका साथै अगाडि बढ्ने मार्गचित्र पनि प्रष्ट पारेको छ ।’

शाहीका अनुसार यसअघि आवश्यक जग्गा प्राप्ति, विकास समिति गठन तथा डीपीआर निर्माण जस्ता महत्वपूर्ण प्राविधिक कार्यहरू सम्पन्न भइसकेका छन् । ‘२६ अर्ब लागत अनुमान गरिएको खेलग्राममा क्रिकेट रंगशाला मात्रै ५० हजार दर्शक क्षमताको हुनेछ,’ शाहीले भने, ‘खेलग्राममा क्रिकेट रंगशालासहित फुटबल मैदान, पौडी पोखरी, ट्रयाक एण्ड फिल्ड, स्पोर्टस् म्युजियमसहित विभिन्न खेलकुद आयोजना गर्न सकिने मल्टी स्पोर्टस् हलसहितका पूर्वाधार हुनेछन् ।’ ईआईए पास भएसँगै अब स्रोतको सुनिश्चितता गर्दै ग्लोबल टेन्डरमा जाने प्रक्रिया अघि बढ्ने शाहीले बताए । फाप्ला परियोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार