कञ्चनपुर ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा तालाबन्दी गरिएको छ । स्थानीयहरूले टोटी खोलामा पुल निर्माणको माग गर्दै मंगलबार नगरपालिकाको मुल गेटमा तालाबन्दी गरेका हुन् । शुक्लाफाँटाको झलारी बजारबाट उत्तरतर्फ लालपनीय, टोटी, पिताम्बर, स्टेसनपुर जोड्ने सडक खण्डमा पर्ने पुल दुई वर्षअघि भत्किएको भएपनि मर्मत नगरिएको भन्दै तालाबन्दी गरेका थिए ।
स्थानीय मनोरथ भट्टले पुलमा यात्रा गर्न जोखिमपूर्ण रहेकाले तत्काल निर्माण गरिनुपर्ने बताए । उनले दैनिक सवारी साधनसहित पुलमाथि यात्रा गर्दा निकै जोखिम मोल्नुपरेको बताए । यद्दपी उक्त पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको नगरपालिकाले जनाएको छ ।
नगर प्रवक्ता लालबहादुर ऐरले प्रदेश सरकारले पुल निर्माणका लागि ३ करोड १० लाख लागतमा काठमाडौँको एसएमएम जेभी कम्पनी सँग ठेक्का सम्झौता गरेको बताए । सम्झौता अनुसार असोज देखि काम सुरु गर्ने जनाइएको छ । नगरपालिकाले आवतजावत सहज बनाउन हाल ग्राभेल हालेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्