कर छलीको आशंकामा दुई पसलमा छापा



अत्तरिया (कैलाली) ।

कैलालीको अत्तरियास्थित दुई पसलमा कर छलीको आशंकामा प्रमुख जिल्ला अधिकारी गोगन हमालको नेतृत्वमा छापा मारिएको छ । विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका–१ स्थित ‘न्यु सुरुची ट्रेडस’ र ‘पिंकु वस्त्रालय’ मा छापा मारिएको हो ।

त्रिनगर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयका प्रतिनिधिहरू समेत सहभागी रहेको टोलीले पसलमा भएको सम्पूर्ण सामान काउन्ट गरेपछि बीलबिजक मात्रै नियन्त्रणमा लिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी हमालका अनुसार पसलहरूले लामो समयदेखि भारतबाट कर छली गरी सामान ल्याउने गरेको भन्ने सूचनाका आधारमा अनुगमन गरिएको हो ।

‘हामीले सामान गनेर मात्र बिलबिजक नियन्त्रणमा लिएका हौँ । अनुसन्धान प्रक्रिया अझै जारी छ,’ उनले जानकारी दिए । टोलीले संकलन गरेको विवरण र बीलबिजकको आधारमा थप अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार