कोहलपुर (बाँके) ।
भारतबाट धनमाल लुटपाट गरी कोहलपुरमा लुकिछिपी बसोबास गरिरहेका ६ जना पक्राउ परेका छन् । कोहलपुर– ११ स्थित होटल न्यू कालीकोटबाट भारतबाट सुनका गहना र नगद चोरी आएका ६ जना पक्राउ परेका हुन् । भारतबाट लुटपाट गरी आएका व्यक्तिहरू कोहलपुरमा बसोबास गर्दै आएको भन्ने विशेष सूचनाका आधारमा मंगलबार दिउँसो होटलमा छापा मारेको थियो ।
प्रहरी निरीक्षक रेशमलाल पौडेलको नेतृत्वमा खटिएको ७ जनाको टोलीले उक्त होटलको कोठा नम्बर ८ मा बसेका ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कालीकोटको रास्कोट–१ का ४२ वर्षीय मन बहादुर शाही र तेज बहादुर शाही रहेका इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
कालीकोटकै सान्नी त्रिवेणी गाउँपालिका–८ का १८ वर्षीय पंकज केसी, नरहरीनाथ गाउँपालिका–९ का २८ वर्षीया सरिता शाही रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरी निरीक्षक पौडेलका अनुसार पक्राउ पर्नेमा सान्नी त्रिवेणी गाउँपालिका–८ का ४५ वर्षीय प्रेमबहादुर खत्री र सोही वडाकी ३८ वर्षीया अनिता खत्री रहेका छन् ।
उनीहरूबाट १५ तोला २५ ‐लाल पत्थर सहित) तौल भएका सुनका गर–गहनाहरू, नगद नेपाली सात लाख सतासी हजार रूपैयाँसमेत बरामद गरिएको छ । ६ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्