निवेदन दिएका ५५ जनामध्ये सेवा अवधिका आधारमा ४२ नम्बरमा रहेका चन्द्रकान्त न्यौपानेलाई निर्देशिकाविपरीत सरुवा गर्ने निर्णय गरिएको छ ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
२०८२ जेठ २२ गते कोहलपुर नगरपालिका–१ स्थित जन ज्ञान ज्योति मावि कौशिलानगरले कोहलपुर नगरपालिकालाई विद्यालयमा रिक्त रहेको प्राथमिक तहको शिक्षक पदको सरुवाको प्रक्रिया अघि बढाइदिन भन्दै पत्र लेख्यो । विद्यालयको पत्रपछि कोहलपुर नगरपालिकाले २०८२ असार २ गते रिक्त पदमा स्थायी शिक्षक नियुक्ति सम्बन्धी १५ दिने सूचना निकाल्यो ।
उक्त सूचनामा भनिएको छ, ‘सम्बन्धित तहको योग्यता पुगेका स्थायी शिक्षकहरूबाट शिक्षा नियमावलीको अनुसूची–१७ बमोजिमको ढाँचामा सम्बन्धित विद्यालय, स्थानीय तह र शिक्षा तथा समन्वय इकाइको सहमतिसहित सम्बन्धित विद्यालयमा निवेदन दिन शिक्षक सरुवा सम्बन्धि निर्देशिका २०८१ को दफा ९ बमोजिम सम्बन्धित सबैकोे जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
नगरपालिकाले सूचना जारी गरेको मितिले असार १७ गतेभित्र सरुवाका लागि ५५ जनाले आवेदन दिएका थिए । निवेदन उपर निर्णय गर्न असार २२ गते छनोट समितिको बैठक बस्यो । उक्त बैठकमा शिक्षक शाखा कोहलपुरका प्रमुख रामबहादुर हमाललाई पनि आमन्त्रण गरिएको थियो। विव्यस बैठकबाट कार्यविधि विपरित निर्णय हुने सम्भावना देखेपछि उनी बीचमै बैठक छाडेर बाहिरिएका थिए । हमाल बैठकमा पाँच मिनेट मात्रै बसेका थिए । बैठक छाड्नु अघि उनले प्रचलित नियम र कानून बमोजिम निर्णय गर्न सुझाएका थिए ।
बैठकमा सहभागी अन्य केही सदस्यले असहमति जनाएपछि उक्त दिन कुनै निर्णय हुन सकेन । फेरि असार २९ गते शिक्षक सरुवा सम्बन्धि निर्णय गर्न विव्यसको बैठक बस्यो । उक्त बैठकमा पनि कार्यविधि विपरित निर्णय गर्न नहुने आवाज उठेको थियो । विद्यालयका प्रधानाध्यापक विनोद लम्साल र विव्यस सदस्य दलबहादुर सुनारले कार्यविधि विपरित निर्णय गर्न नहुने अडान लिएका थिए । प्रधानाध्यापक लम्साल सुरुमा आफूले नियमित अनुसार नै सरुवा गर्न अडान लिएको बताउँछन् ।
उनका अनुसार पछि विद्यालय विरोधी भइने होकी भन्ने पीरले अन्त्यमा निर्णयमा हस्ताक्षर गर्नुपरेको बताए । उनी भन्छन्, ‘असार २९ गते निर्णय भएको थियो । विव्यस बैठकले निर्णय ग¥यो । ५५ जनाले निवेदन दिएका थिए । निवेदन दिएकामध्ये विष्णुप्रसाद अधिकारी १ नम्बरमा हुनुहुन्छ। नियुक्त हुनुहुपर्ने चाँही उहाँ हुने हो । सेवा अवधिको आधारमा ४२ नम्बरमा रहनु भएका चन्द्रकान्त न्यौपानेलाई नियुक्त गर्ने निर्णय भयो । उहाँको सेवा अवधि दुई वर्ष मात्रै छ ।’
उक्त दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमलाल शर्माको अध्यक्षतामा बसेको बैठकले निवेदन दिएका ५५ जनामध्ये सेवा अवधिका आधारमा ४२ नम्बरमा रहेका चन्द्रकान्त न्यौपानेलाई सरुवा गर्ने बहुमतले निर्णय ग¥यो । जुन शिक्षक सरुवा सम्बन्धि निर्देशिका २०८१ को विपरित छ । निर्देशिकामा शिक्षक सरुवा गर्दा निवेदकहरूमध्येबाट सबैभन्दा धेरै सेवा अवधि भएकालाई नियुक्त गर्ने भन्ने छ । निवेदकमध्ये अधिकारीको २१ वर्षे सेवा अवधि छ । उनले एउटै विद्यालयमा १९ वर्ष सेवा गरेका छन् । हाल उनी डोल्पाको तेन्जिङ नोर्गे आधारभूत विद्यालयमा कार्यरत छन् ।
यस विषयमा कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख रामबहादुर हमालले कानुन बमोजिम नै शिक्षक नियुक्त हुनुपर्ने बताउँछन् । उनका अनुसार निर्देशिकामा एउटै स्कूलमा सबैभन्दा धेरै सेवा गरेको शिक्षकलाई नियुक्त गर्नुपर्ने उल्लेख छ । उनले भने, ‘निर्देशिकाको दफा २१ मा सबैभन्दा बढी सेवा अवधि भएको शिक्षकलाई नियुक्त गर्ने गर्ने उल्लेख छ । दफा २३ मा नियमित विपरित नियुक्त भए बदर गर्न सक्ने उल्लेख गरिएको छ ।’
हमालले जनज्ञान ज्योति माविमा शिक्षक सरुवा निर्देशिका विपरित भएको गुनासो आएको बताए । उनले निर्णय आईनसकेको र विद्यालयको निर्णय आउँदा कानुन बमोजिम भए नभएको बारेमा बुझ्ने बताए । उनका अनुसार कानून विपरित निर्णय भएको पाइए निर्णय बदर हुन्छ । यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमलाल शर्मा नीति, नियम र कार्यविधि भन्दा पनि विद्यालयको आवश्यकताको आधारमा निर्णय गरिएको दाबी गर्छन् । उनका अनुसार नियम, कार्यविधिले सबैभन्दा सिनियर शिक्षकलाई नियुक्त गर्नुपर्ने बाध्यात्मक अवस्था भएपनि त्यसरी नियुक्त गर्दा ठूलो धक्का खाने भएको हुँदा आवश्यकताको आधारमा शिक्षक नियुक्त गर्ने निर्णय गरिएको हो ।
‘एकपटक निर्णय गरौँ न त भनेको पठाएको हो । मुद्दा मामिला भएपनि सुनुवाई भएछ भनेपनि ठिकै छ । कार्यविधि अनुसार जानुस् है भन्यो भनेपनि फेरि निर्णय गरौँला भन्ने हो’, मिसन टुडेसँग कुराकानी गर्दै उनले भने । विव्यस अध्यक्ष शर्माले कानून भन्दा पनि विद्यालयको आवश्यकतामा टेकेर अघि बढौँ भनेर निर्णय गरिएको बताए । उनले बहुमत भन्दा आवश्यकता र सबैको सल्लाह बमोजिम निर्णय गरिएको जिकिरसमेत गरेका छन् ।
शिक्षक नियुक्तिमा आर्थिक चलखेल र राजनीतिकरण नभएको उनले बताए । शिक्षक सरुवाका विषयमा कोहलपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बद्रीप्रसाद जैसीलाई बुझ्दा अनविज्ञता प्रकट गरे । उनले शिक्षक नियुक्तिका विषयमा आफूलाई औपचारिक जानकारी नभएको र नियम विपरित नियुक्त गरिएको सुनेको बताए ।
निर्णय खारेज गर्न अधिकारीको माग
जन ज्ञान ज्योति माध्यमिक विद्यालयको शिक्षक सरुवाका लागि आह्वान गरिएको सूचनामा निवेदन दिनेमध्येका विष्णु प्रसाद अधिकारीले विव्यस निर्णय खारेजीको माग गरेका छन् । विव्यसले निर्णय गरेकै दिन अधिकारीले शिक्षा तथा समन्वय इकाइ, बाँके र कोहलपुर नगरपालिका शिक्षा शाखालाई उक्त निर्णय खारेजीको माग गर्दै निवेदन दिएका छन् ।
अधिकारीले सरोकारवाला निकायलाई दिएको निवेदनमा भनिएको छ, ‘मेरो फायल शिक्षक सरुवा सम्बन्धि निर्देशिका २०८१ अनुसार एक नम्बरमा रहेकोमा त्यस निर्देशिकालाई उल्लंघन गरि असार २९ गते बसेको विव्यस बैठकबाट अन्य शिक्षकलाई सरुवा भइ आउन सहमति दिइएकोले सो निर्णयमा मेरो गम्भीर आपत्ति छ । सो निर्णय खारेजीको माग गर्दै यो निवेदन पेश गरेको छु ।’ निवेदनमा आफू २० वर्षदेखि डोल्पा जिल्लामा कार्यरत रहेको उल्लेख गरेका छन् ।
हाल उनी छार्काताङसोङ गाउँपालिकास्थित तेन्जिङ नोर्गे आधारभूत विद्यालयमा कार्यरत छन् । शिक्षक अधिकारी भन्छन्, ‘शिक्षक सरुवा निर्देशिका २०८१ अनुसार उक्त सूचना निकालिएको थियो । नियम अनुसार जसको सबैभन्दा धेरै सेवा अवधि हुन्छ । १ नम्बरमा हुने भन्ने हुन्छ । सोही नियम अनुसार मैले फर्म लगाएको थिए । इमेलबाट पनि हालेको थिए । एक जना भाईलाई हार्ड कपी दिएर दर्ता पनि गरेको थिए ।’
उनको निवेदन दर्ता नम्बर ७२७८ हो ।
निवेदन दर्ता भइसकेपछि निर्णय हुनुभन्दा पहिला प्रधानाध्यापक र विव्यस अध्यक्षले नै बधाइ दिएको उनले बताए । उहाँहरूले भन्नु भएको थियो, ‘ल बधाई छ तपाईँ एक नम्बर हुनुहुन्छ । कन्फर्म हुन्छ भनेर बधाई दिनुभयो ।’ असार २९ गते बैठकले १ नम्बरमा रहेको नामलाई बदर गरेर अरु कोही शिक्षकलाई सरुवाका लागि सहमति दिइएको त्यसमा आफ्नो आपत्ति रहेको बताए । उनले शिक्षक सरुवामा आर्थिक चलखेल र राजनीतिकरण भएको बताए । उनले निर्णय बदर हुनुपर्ने माग गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्