वीरेन्द्रनगर ।
गायिका हरिमाया कार्कीको मौलिकता झल्किने तीज गीत ‘मधु’ सार्वजनिक भएको छ । हरिमाया कार्की अफिसियल युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको हो । नेपाली संस्कृति र स्थानीय मौलिकता झल्किने तीज गीत ‘मधु’मा स्थानीय कलाकारहरूको अभिनय रहेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्षसमेत रहेकी हरिमाया कार्कीको एकल स्वरमा रहेको ‘मधु’मा संगीत र शब्द रचना पनि गायिका कार्कीले आफैँ गरेकी हुन् ।
गीतका रचनाकार कार्कीले तीज गीत ‘मधु’ नेपाली हिन्दु महिलाहरूको जीवन भोगाइ र अनुभूतिको प्रतिविम्ब भएको बताइन् । कर्णालीको मौलिक संस्कृति भल्किने उक्त गीतमा तीजमा माइतीघर जान नपाएकी छोरीले माइतीघरबाट आमाबुवाले पठाएका कोशेलीहरू साथमा राखेको सम्झना देखाइएको छ । उक्त गीतमा माइतीघर जान नपाएकी ‘मधु’ आमाले पठाएको सिफन र रेशमी सारी लगाएर नाच्दाखेरीको अनुभूति समेटिएको छ ।
‘मधु’मा आमाको चिनो शिरफूल र बुवाको चिनो बालिया हराएपछि विरक्त भएको कथा गीतमा समेटिएको छ । सुर्खेतको भेरी पारी माइतीघर भएकी ‘मधु’ बर्खायामको बादलले माइतीगाउँ छेकेको अवस्थामा माइती सम्झेर कर्मलाई दोष दिँदै माइतीघर जान नपाउँदाको पीर जीवनभर रहेको कल्पना गीतमा गरिएको छ । बाबाको काखमा पुतली भेषमा उडेर आउने कल्पना ‘मधु’ले गरेकी छिन् । गत वर्ष तीज गीत ‘पार्वता’ ल्याएकी कार्कीले यो वर्ष ‘मधु’ सार्वजनिक गरेकी हुन् ।
दुई दशक लामो समय लोक तथा दोहोरी गीतको क्षेत्रमा अनवरत लागेकी कार्की तीज गीतलाई समयानुकूल परिवेशमा परिस्कृत गर्नुपर्ने बताउँछिन् । ‘तीज गीत समाज परिवर्तन, नारी सिर्जनशीलता र सकारात्मक सन्देश दिने खालका हुनुपर्छ,’ उनले भनिन्, ‘सधैँ जेठानी देउरानीको झगडा, सासुबाट थिचोमिचोमा परेको बिलौना मात्र होइन पारिवारिक मेलमिलाप र सहकार्यको सन्देश पनि मौलिक गीतबाट दिनुपर्छ । त्यो भूमिका यो गीतले निर्वाह गरेको छ ।’
खेमराज गौतमले संगीत एरेन्ज गरेको उक्त गीत मालाश्री डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको भिडिओमा समीक्षा सुनार, जानकी पुन, यामनारायण आचार्य, सिर्जना ठकुराठी, चित्रकला खत्री, हरिमाया कार्की, अनमिन जिसी, पावल बलामी मगरलगायतका कलाकारहरूले अभिनय गरेका छन् । गीतको भिडियो सुर्खेतका विभिन्न पर्यटकीय स्थानमा छायाङ्कन गरिएको छ । निर्मल प्याकुरेले निर्देशन र सम्पादन गरेको उक्त भिडिओमा चन्द मन्दिर र हेमन्त नेपालीले नृत्य निर्देशन गरेका हुन् ।









प्रतिक्रिया दिनुहोस्