नेपालमा दैनिक एक दर्जन बढीले त्याग्छन् जीवन



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

नेपाल प्रहरीको एक तथ्यांकले नेपालमा दैनिक सरदर एक दर्जनभन्दा बढी नागरिकले आत्महत्या गर्ने देखाएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा दैनिक सरदर १६ जनाले आत्महत्या गर्छन् । आर्थिक वर्ष २०८१–०८२ को जेठ महिनासम्मको तथ्यांकअनुसार देशभर कूल ६ हजार १ सय जनाले आत्महत्या गरेका छन् । जुन औसत दैनिक १६ जना हो ।

गत आर्थिक वर्ष २०८०–०८१ वार्षिक तथ्यांकअनुसार दैनिक सरदर आत्महत्याको दर २० जना थियो । नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षमा ७ हजार २२१ जनाले आत्महत्या गरेका थिए । गत आर्थिक वर्षको भन्दा चालू आर्थिक वर्षमा आत्महत्याको दर घटेको तथ्यांकले देखाएको छ । गत वर्षभन्दा यो यस वर्षको आत्महत्याको सङ्ख्या १ हजार १२१ जनाले कम हो ।

यस वर्ष देशभर आत्महत्यासम्बन्धी मुद्दा दर्ताको सङ्ख्या भने ६ हजार ८६ रहेको प्रहरीले जनाएको छ । एक वर्षको अवधिमा ३ हजार २९७ जना पुरुषले आत्महत्या गरेका छन् । कूल सङ्ख्यामा आत्महत्या गर्नेमध्ये २ हजार २४ जना महिला रहेका छन् । २३४ जना बालकहरू र ५२७ जना बालिकाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ । विगत १० वर्षको तथ्यांक हेर्दा नेपालको आत्महत्याको अवस्था चिन्ताजनक देखिन्छ ।

आर्थिक वर्ष २०७०–०७१ मा ५ हजार १०७ जना, २०७१–०७२ मा ४ हजार ३५० जना, २०७२–०७३ मा ४ हजार ७०५ जना २०७३–०७४ मा ५ हजार १३१ जनाले आत्महत्या गरेका थिए । यस्तै २०७४–०७५ मा ५ हजार ३४६ जना, २०७५–०७६ मा ५ हजार ७५४ जना, २०७६–०७७ मा ६ हजार २४१ जनाले आत्महत्या गरेको तथ्यांक छ । आर्थिक वर्ष २०७७–०७८ मा ७ हजार ११७ जना, २०७८–०७९ मा ६ हजार ७९१ जना र २०७९–०८० मा ६ हजार ९७४ जनाले आत्महत्या गरेको तथ्यांक छ । नेपालको कूल जनसङ्ख्याको ०.०१ प्रतिशत व्यक्तिले बर्सेनि आत्महत्या गर्ने गरेको पाइएको छ । सबैभन्दा बढी व्यक्तिले झुण्डिएर, विष खाएर र आगो लगाएर आत्महत्या गर्ने गरेका छन् ।

लुम्बिनीमा घट्यो आत्महत्याको दर

नेपाल प्रहरीको एक तथ्यांकले लुम्बिनी प्रदेशमा आत्महत्याको दर घटेको देखाएको छ । चालू आर्थिक वर्ष २०८१–०८२ को जेठ मसान्तसम्म लुम्बिनीमा एक हजार १७९ जनाले आत्महत्या गरेका छन् । यो सङ्ख्याले देशभरका सात प्रदेशभन्दा धेरै आत्महत्या गर्नेको दोस्रो नम्बरमा लुम्बिनी रहेको देखाएको छ ।

कोशी प्रदेशमा सबैभन्दा धेरै एक हजार ३०६ जनाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ । एक वर्षमा सुदूरपश्चिममा ५०८ जना रहेका छन् । काठमाडौँ उपत्यकामा मात्रै ४५२ जनाले आत्महत्या गरेका छन् । लुम्बिनीमा आर्थिक वर्ष २०८०–०८१ मा १ हजार ३२१ र २०७९–०८० मा १ हजार ३०६ जना व्यक्तिले आत्महत्या गरेका थिए ।

आर्थिक वर्ष २०७५–०७६ देखि २०७९–०८० सम्म लुम्बिनी प्रदेशमा मात्रै कूल ६ हजार २६१ जनाले आत्महत्या गरेका थिए । यो अवधिमा सबैभन्दा धेरै बागमती प्रदेशका ७ हजार ३२८ जनाले आत्महत्या गरेका छन् । यस्तै कोशी प्रदेशका ७ हजार १७१, मधेश प्रदेशका ४ हजार ६०७ जना, गण्डकी प्रदेशका ३ हजार २७५ जना, सुदूरपश्चिम प्रदेशका २ हजार ८३० जना र सबैभन्दा कम कर्णालीका १ हजार ४५९ जनाले आत्महत्या गरेको नेपाल प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार