विपद् सवालमा सञ्चारकर्मीसँग कार्यशाला



धनगढी ।

विपद्का सवालमा सञ्चारकर्मीसँग कार्यशाला आइतबार धनगढीमा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग र प्रतिबद्ध परियोजनाको सहकार्य तथा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको समन्वयमा भएको कार्यशालामा सुदूरपश्चिममा विपद्को अवस्था, विपद्सम्बन्धी नीतिगत व्यवस्थालगायत विषयमा छलफल भएको थियो ।

कार्यक्रममा प्रतिबद्ध परियोजनाका नवीन भण्डारीले सुदूरपश्चिम प्रदेशको विपद्का अवस्था र यसबाट भएको क्षतिबारेमा प्रस्तुतीकरण गरेका थिए । यस वर्षमात्र चट्याङबाट यहाँ ११ जनाले ज्यान गुमाएका तथ्यांक उनले प्रस्तुत गरे । प्रतिबद्ध परियोजनाका लागि सेभ द चिल्ड्रेनको तर्फबाट उषा जोशीले विपद् संवेदनशील, उत्तरदायी सामाजिक सुरक्षाका बारेमा प्रस्तुतीकरण राखिन् ।

विपद्को पूर्वतयारी गर्नका लागि सरोकारवालालाई संवेदनशील बनाउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहँदै आएको उनले बताइन् । विपद्पछि पीडितलाई बिनाविभेद राहत वितरणमा पनि सञ्चारकर्मीको खबरदारी महत्वपूर्ण रहेको धारणा जोशीले राखिन् । कार्यक्रममा पिपुल इन निडको तर्फबाट सालिग्राम घिमिरेले मौसमको पूर्वानुमानमा आधारित पूर्वकार्यको अवधारणा तथा पुष्पा घलेले प्रकोप जोखिम वित्तकोषबारे प्रस्तुतीकरण राखेका थिए ।

त्यस्तै पत्रकार टेकेन्द्र देउवाले विपद्मा सञ्चारकर्मीको भूमिकाबारे कार्यपत्र प्रस्तुत गरे । कार्यक्रमको उद्घाटनमा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री हिरा सार्कीले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली महत्वपूर्ण रहेको बताए । उनले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिँदै विपद्बाट सचेतीकरण र क्षति न्यूनीकरणमा सञ्चारकर्मीको पनि महत्वपूर्ण भूमिका रहने धारणा राखे ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाहको अध्यक्षता भएको कार्यशालामा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन परियोजनाका तेज बोहराले गरेका थिए भने समापन नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्टले गरेका थिए ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ असार ३० गते सोमबार