कालिकोट पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा



कालिकोट ।

कालिकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका ९ वटै स्थानीय तहले सबै बालबालिकाले पूर्णखोप पाएको घोषणा गरेपश्चात् कालिकोटलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनायुक्त जिल्ला घोषणा गरिएको हो । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागितालाई ध्यान दिँदै कालिकोटलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा व्यवस्थापक डा. भीष्मराज पोख्रेलले बताए ।

स्थानीय तहका स्वास्थ्य संस्थाको अगुवाइमा वर्षभरी अभियान सञ्चालन गरेर खोप पाएको सुनिश्चितता गरिएको हो । उनका अनुसार वैशाखदेखि गाउँ बस्तीमा स्वास्थ्यकर्मी खटाएर खोज र खोप अभियानमार्फत छुटेका सबैलाई खोप दिइएको थियो । १६ देखि ५९ महिनाका सबै बालबालिकाले १३ वटा खोप पाएको सुनिश्चिततापछि ९ वटै स्थानीय तहसहित जिल्लालाई पूर्णखोपयुक्त घोषणा गर्न सफल भएको उनले बताए।

जेठ महिनादेखि असार १५ गतेभित्र यहाँका महाबै, पचालझरना, नरहरिनाथ, सान्नी त्रिवेणी, रास्कोट, तिलागुफा, शुभकालिका, पलाता र खाँडाचक्र पालिकालाई औपचारिक रूपमा घोषणा गरिएको थियो । असार २७ गते बसेको जिल्ला खोप समन्वय समितिको बैठकको निर्णयअनुसार असार २८ गते कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा जिल्लालाई नै पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।

स्वास्थ सेवा कार्यालयका सूचना अधिकारी कटक महतले बालबालिकालाई दादुरा, टाइफाइड, पोलियो, पेन्टा, जापानीज इन्सेफलाटिस (जेई), रोटा, एफआईपीभी लगायतका १३ खोप दिइएको बताए । स्वास्थ्यकर्मी रवीन्द्र सेजुवालले जिल्लामा खोप लगाइरहेका १५ महिनामुनिका बालबालिका ३ हजार ११ जना रहेका छन् । सबै घरधुरी सर्भेक्षण गरी राष्ट्रिय खोप तालिका अनुसार खोप लगाइरहेको सुनिश्चितता गरिएको छ ।

पूर्णखोप प्राप्त गरेका १६ महिनादेखि ५९ महिनाका बालबालिका ५ हजार ८४४ जना रहेका छन् । सबै स्थानीय तहका जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी लगायतको सहभागितामा सम्पन्न घोषणामा खोप अभियानमा योगदान पु¥याउने उत्कृष्ट स्वास्थ्यकर्मी, स्थानीय तह, सञ्चारकर्मी लगायतलाई सम्मान पनि गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ३० गते सोमबार