बैजनाथ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन



कोहलपुर (बाँके) ।

जिल्लाको बैजनाथ गाउँपालिकाका प्रशासनिक भवन उद्घाटन गरिएको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर ५ रामपुरस्थित गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन उद्घाटन गरिएको हो । आइतबार गाउँपालिकामा धार्मिक विधिअनुसार गाउँपालिकाका निवर्तमान अध्यक्ष मानबहादुर रूचाल ठकुरी, अध्यक्ष प्रकाशबहादुर शाही र उपाध्यक्ष निर्मला रोकायाले संयुक्तरूपमा भवनको उद्घाटन गरेका थिए ।

प्रशासनिक भवन यसअघि निर्माण सम्पन्न भएका पालिकाको सम्पूर्ण काम कारबाही सञ्चालन हुँदै आएको छ । उक्त भवन २०७४ मा निर्वाचित जनप्रतिनिधिहरूको पालामा निर्माण सुरू गरिएको थियो । प्रशासनिक भवन उद्घाटनमा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायाले नयाँ भवन उद्घाटन हुनु गाउँपालिकाको लागि खुसीको खबर भएको बताइन् । उनले भवन निर्माण सुरू गर्ने गाउँपालिकाको निवर्तमान नेतृत्वलाई धन्यवादसमेत व्यक्त गरिन् । ‘यो हाम्रो लागि ऐतिहासिक हो ।

गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । अब गाउँपालिकाका जनताले शुलभ सेवा पाउनेछन्,’ उपाध्यक्ष रोकायाले भनिन् । गाउँपालिकाका निवर्तमान अध्यक्ष मानबहादुर रूचाल ठकुरीले गाउँपालिकाको भवन निर्माण सुरू गर्न निकै संघर्ष गर्नुपरेको स्मरण गरेका थिए । संघीयता कार्यान्वयनको क्रममा गाउँपालिकाको नामाकरण सर्वसहमतिमा गरिएको बताए । सुरूमा गाउँपालिकाको केन्द्र वनकटुवामा तोकिएको थियो ।

पछि गाउँपालिकाका नागरिकलाई पायक पर्ने र खुला जग्गा भएको स्थानमा स्थायीरूपमा केन्द्र तोक्नको लागि अध्ययन कार्यदल बनाइएको ठकुरीले बताए । ‘केन्द्रको लागि विभिन्न स्थान सिफारिस भएका थिए । सम्भावित स्थानका बारे व्यापक छलफलसमेत भयो । अन्ततः सर्वसहमतिमा रामपुर तोकिएको थियो । अहिले यत्रो संरचना खडा भएको छ । हामी खुसी छौँ,’ उनले भने । गाउँपालिकाको बृहत् विकासका लागि सबैले हातेमालो गर्न आवश्यक रहेकोमा जोड दिए ।

भवन उद्घाटन सत्रलाई सम्बोधन गर्दै बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले लामो समयको प्रयासपछि भवन निर्माणले औपचारिकता पाएको बताए । उनका अनुसार प्रशासनिक भवन जनताको संरचना हो । अब जनताले भवनबाट समयमै शुलभ रूपमा सेवा पाउनेछन् । ‘आज भवन उद्घाटन भएको छ । यो दीर्घकालीन संरचना हो । बैजनाथको आफ्नो भवन भएको छ । यो जनताको घर हो । जनताका लागि बनाइएको हो ।’ उनले भने ।

अत्याधुनिक सेवासहितको भवन २०७७ साउन ४ गतेदेखि निर्माण सुरू भएको थियो । साढे तीन तलाको भवन २०८० सालमा निर्माण सम्पन्न भएको गाउँपालिकाका योजना शाखाका योजना अधिकृत डोटी नेपालीले बताए । उनका अनुसार गाउँपालिकाले ठेक्का प्रक्रियामार्फत भवन निर्माण गरिएको हो । उक्त भवन एम के कन्ट्रक्सन धनगढी कैलालीले निर्माण गरेको हो । भवन कूल ४ करोड ९७ लाख १९ हजार ५ सय सात रूपैयाँ लागतमा सम्पन्न भएको अधिकृत नेपालीले बताए ।

उक्त भवन जिल्ला समन्वय समन्वय बाँकेद्धारा पालिकालाई प्रदान गरिने पूर्वाधार सहयोगअन्तर्गत निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । भवनका लागि समितिले कूल ४ करोड ९७ लाख १९ हजार ५ सय सात रुपैयाँ प्रदान गरेको थियो । उक्त रकमबाट वडा नम्बर २ र वडा नम्बर ४ को वडा कार्यालय भवन र प्रशासनिक भवन निर्माण सम्पन्न गरिएको हो । गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि गाउँपालिकाले थप २ करोड ८६ लाख थप गरेको उनको भनाइ छ ।

बैजनाथको बजेट सर्वसहमतिमा पारित

बैजनाथ गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट तथा कार्यक्रम सर्वसहमतिमा पारित भएको छ । आइतबार सम्पन्न १८औँ गाउँ सभामा गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम सर्वसहमतिले पारित भएको हो । सभामा अध्यक्ष प्रकाशबहादुर शाहीले बजेट पारितका लागि प्रस्ताव गरेका थिए । उनको प्रस्तावमाथि सभाका सदस्यहरुले समर्थन जनाउँदै सर्वसहमतिमा पारित गरेका थिए।

यस्तै सभाले आर्थिक ऐन २०८२, निनियोजन ऐन २०८२ र मध्यकालीन खर्च संरचना बहुमतले पारित गरेको सभाका सचिव तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । सभामा बोल्दै अध्यक्ष शाहीले गाउँपालिकाले आर्थिक वर्ष २०८१–०८२ मा गाउँपालिकाले कूल ९२.३१ प्रतिशत बजेट खर्च गरेको जानकारी दिए ।

उक्त अवसरमा गाउँपालिकाले पालिकाको उत्कृष्ट विद्यालय तथा कर्मचारीहरुलाई सम्मान गरेको थियो । सम्मानित हुने बैजनाथ गाउँपालिका वडा नम्बर ४ स्थित विपी मेमोरियल माध्यमिक विद्यालय रहेको छ । २०८१ मा उक्त विद्यालयले माध्यमिक शिक्षा परीक्षामा गाउँपालिकाकै उत्कृष्ट नतिजा ल्याएको थियो । उक्त अवसरमा गाउँपालिकाले उत्कृष्ट विद्यालयका रुपमा नगद २० हजारसहित दोसल्ला र सम्मानपत्रले विद्यालयका प्रधानाध्यापक र विव्यस अध्यक्षलाई सम्मान गरेको थियो ।

यस्तै गाउँपालिकाका उत्कृष्ट कर्मचारीका रुपमा स्वास्थ्य चौकी चिसापानीमा कार्यरत प्रेम शाह, गाउँपालिकाको राजस्व शाखा प्रमुख दीपाकुमारी वली र बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा कार्यरत कार्यालय सहयोगी तुल्सीराम थारुलाई सम्मानपत्र, दोसल्ला र नगद २० हजारसहित सम्मान गरिएको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ असार ३० गते सोमबार