फेरिएको राप्ती सोनारीः एक वर्षमै ५६ किलोमीटर कालोपत्रे सडक



राप्ती सोनारी गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१–०८२ मा सम्पन्न गरेका उपलब्धि सार्वजनिक गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, पशु, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकता दिएको थियो ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बाँके जिल्लाको कूल क्षेत्रफलमध्ये ४५ प्रतिशत भू–भाग ओगटेको स्थानीय तह हो, राप्ती सोनारी गाउँपालिका । राप्ती सोनारी क्षेत्रफलका हिसाबमा नेपालकै सबैभन्दा ठुलो गाउँपालिकासमेत हो । गाउँपालिका कूल क्षेत्रफल १०४१.७३ वर्ग किलोमिटरमा फैलिएको छ । ९ वटा वडामा विभाजित गाउँपालिका विकासमा काँचुली फेर्दैछ ।

विकासका दृष्टिले जिल्लामै तुलनात्मक रुपमा पछि रहेको राप्ती सोनारी गाउँपालिका पछिल्ला वर्षहरुमा विकासमा फड्को मार्दै गएको छ । राप्ती सोनारीले विशेषगरी भौतिक पूर्वाधार विकासमा उल्लेख्य प्रगति गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१–०८२ मा ५६ किलोमिटर सडक कालापत्रे गरेको छ । पूर्वाधार विकासलाई प्राथमिकता दिएको गाउँपालिकाले एक आर्थिक वर्षमै ५६ किलोमिटर सडक कालोपत्रे गरेको हो ।

गाउँपालिकाले सार्वजनिक गरेको प्रगति विवरणअनुसार अगैया–बैजापुर–फत्तेपुर सडक २५ किलोमिटर कालोपत्रे गरिएको छ । यस्तै, माथेबास, जिरोदेखि शम्शेरगन्जसम्म १७ किलोमिटर सडकमध्ये १४ किलोमिटर कालोपत्रे गरिएको गाउँपालिकाले जनाएको छ । बाँकी ३ किलोमीटर सडक पनि कालोपत्रेकै क्रममा रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले भविष्यमा शम्शेरगन्जदेखि राँझा विमानस्थलसम्म जाने ३१ किलोमिटर सडक डीपीआर गरी निर्माण गर्न सके रणनीतिक महत्वको हुने बताए । यस्तै ५.५०९ किलोमिटर नयाँ बाटो निर्माण÷मर्मत संभार र स्तरोन्नति गरिएको उनले बताए । ३.८५२ किलोमिटर कुलो नाली निर्माण तथा मर्मत संभार गरिएको र ४५० वर्गमिटर खेल मैदान निर्माण गरिएको उनको भनाइ छ।

चालू आवमा राप्ती सोनारीमा कूल २६० वटा योजना सम्पन्न भएका थिए । तीमध्ये २५ वटा ठेक्का प्रक्रियामार्फत, टोल विकास संस्थामार्फत १५३ वटा, विव्यसमार्फत १३ र अन्य समिति र संघसंस्थामार्फत ४८ वटा योजना सम्पन्न भएका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०७९–०८० देखि हालसम्म कूल १ करोड २७ लाख ८ हजारको लगानीमा कूल ३० हजार हेक्टर जमिनमध्ये ३३.८२ प्रतिशत जमिनमा मात्र सिँचाइ पुगेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा सम्पन्न कार्य सम्पादनमा राप्ती सोनारी गाउँपालिकाले ६० अंक प्राप्त गर्दै जिल्लाको प्रथम गाउँपालिका हुन सफल भएको उनले बताए ।

कूल ४७ लाख ८६ हजारको लगानीमा २१९ घरपरिवारलाई जस्तापाता सहयोग गरिएको र कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताएका छन् । उनका अनुसार विपन्न वर्ग आवास कार्यक्रमअन्तर्गत वडा नम्बर १, २, ८ र ९ तथा वडा नम्बर ३, ४, ५ र ६ मा दुई प्याकेजको कूल २ करोड ५ लाख ४२ हजारमा ५२ घर निर्माणका लागि ठेक्का सम्झौता भइ हालसम्म ४९ वटा घर निर्माण सम्पन्न गरिएको छ ।

यसैगरी, वडा नम्बर ४ मा १५ शय्याको अस्पताल निर्माण गरी सञ्चालनमा ल्याइएको अध्यक्ष पौडेलको भनाइ छ । गाउँपालिकाले गत आर्थिक वर्षको नदीजन्य पदार्थको बक्यौता ४ करोड २२ लाख २ हजार ७५६ रकम असुली गरेको छ । विभिन्न वडाका २१ वटा विद्यालयहरुको शौचालय निर्माण÷मर्मत, खानेपानी व्यवस्थापन, जिप्सन÷प्लाईउड जडान, कक्षा कोठाको मर्मत संभार गरिएको छ ।

वडा नम्बर ४ मा १ करोड १९ लाख १५ हजारमा ठेक्का सम्झौता भई औद्योगिक ग्रामको पूर्वाधार निर्माण भइरहेको छ । असल अभ्यासका रुपमा २०८१ असोज ३ गते अन्तरपालिका समन्वय बैठक सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ । यस्तै असार २१ गते राप्ती सोनारी गाउँपालिकाकै आयोजनामा खजुरा र बैजनाथ गाउँपालिकासँग अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको थियो ।

सूचना प्रविधितर्फ गाउँपालिकाले वडा कार्यालय, प्रहरी चौकी डिलिकेटेड इन्टरनेट सेवा विस्तार गरेको छ । गाउँपालिका तथा वडा कार्यालयहरुमा सीसीटिभी क्यामरा जडान गरिएको छ । राजस्व शाखाअन्तर्गत चालू आर्थिक वर्षको आन्तरिक स्रोततर्फ ६ करोड १२ लाख ५० हजार अनुमान गरिएकोमा हालसम्म ८ करोड ३५ लाख बक्यौतासमेत असुली भइ अनुमानभन्दा १३६.३३ प्रतिशत राजस्व वृद्धि भएको छ ।
गाउँपालिकाका ४६ जनालाई अपांगता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ ।

वडा नम्बर १ देखि ९ सम्मका ७५ जना महिलालाई मकैको खोस्टा र थाकलबाट निर्मित सामग्री बनाउने तालिम प्रदान गरिएको छ । वडा नम्बर ७ का मुस्लिम समुदायका महिलाहरुलाई अचार बनाउने तालिम प्रदान गरिएको छ । गाउँपालिकाले रोजगार रणनीति निर्माण गरेको छ । चालू आवमा न्यायिक समितितर्फ कूल ९८ वटा निवेदन दर्ता भएका थिए । तीमध्ये ८८ वटामा निर्णय गरिएको छ । मेलमिलापका माध्यमबाट समाधान गरिएको निवेदनको संख्या ८७ वटा रहेको छन् ।

भूमि शाखाअन्तर्गत गाउँपालिकाले २२५ विघा क्षेत्रफल नाप नक्सा सम्पन्न गरेको छ । नाप नक्सा सम्पन्न कूल कित्ता संख्या ३ हजार १ सय, डेटा बेस तयार कित्ता संख्या २ हजार ८ सय, नाप नक्सा सम्पन्न गरिएको भूमिहीन दलित परिवार संख्या ५६ जना रहेको गाउँपालिकाले जनाएको छ। नाप नक्सा सम्पन्न गरिएका भूमिहीन सुकुम्बासी परिवारको संख्या २५५ जना र नाप नक्सा सम्पन्न गरिएका अव्यवस्थित बसोबासीको संख्या १७५५ जना रहेको गाउँपालिकाले जनाएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रमअन्तर्गत वडा नम्बर ८ मा बाख्रापालनसम्बन्धी १० जना महिलालाई पुनर्ताजगी तालिम प्रदान गरिएको छ । वडा नम्बर ३ मा बेमौसमी तरकारीसम्बन्धी ८ जना महिलालाई तालिम प्रदान गरिएको छ । ६६ जनालाई छात्र÷छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । ३ करोड ९१ लाख २६ हजार ८४५ मा शिक्षण सहयोग प्रदान गरिएको छ ।

२४ वटा विद्यालयहरुको शौचालय निर्माण÷मर्मत, खानेपानी व्यवस्थापन, जिप्सन÷प्लाइउड जडान, कक्षा कोठा मर्मत गरिएको छ । कृषि शाखाअन्तर्गत वडा नम्बर १ देखि ९ सम्मका ३६१ जना किसान घरपरिवारको जग्गाको माटो परीक्षण गरिएको छ । ९ हजार किसान घरधुरी परिवारलाई सूचीकृत गरिएको छ । २ हजार २ सय जना कृषकहरुलाई किसान कार्ड वितरण गरिएको छ ।

यस्ता छन् समस्या र सम्भावना

विकासको गतिमा अघि बढिरहेको गाउँपालिकाले विभिन्न समस्या झेलिरहेको छ । गाउँपालिकाको मुख्य समस्याका रुपमा गाउँपालिकाको आफ्नै प्रशासनिक भवन नहुनुलाई लिइएको छ । गाउँपालिकामा दीर्घ रोगीहरुको संख्या बढ्दै जानु गाउँपालिकाको समस्याका रुपमा रहेको जनाइएको छ । पालिकाको भूगोल ठुलो भएकाले सन्तुलित विकास गर्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऐडीले जानकारी दिए ।

उनका अनुसार नदीजन्य पदार्थ व्यवस्थापनमा कठिनाइ छ । शैक्षिक उन्नति र गुणस्तर कमजोर देखिएको छ । यस्तै सम्भावनाहरु उपभोग गर्न नसकिएको पनि उनले बताए । यसैगरी गाउँपालिकाका सम्भावनाका रुपमा पर्यटन, कृषि तथा पशुपालन रहेको गाउँपालिकाले जनाएको छ । यस्तै वन तथा वातावरण र नदीजन्य पदार्थ प्रशोधन उद्योग रहेको राप्ती सोनारीले जनाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ असार ३० गते सोमबार