कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट



धनगढी ।

कैलाली कारागारमा कैदीबन्दीहरूबीच सामूहिक कुटपिट भएपछि कैदीबन्दीहरूले आन्दोलन गरेका छन् । शनिबार दिउँसो कारागारका नाइके खगेन्द्र बोगटीमाथि कुटपिट भएपछि कैदीबन्दीले आन्दोलन गरेका हुन् । प्रहरीका अनुसार कुटपिटमा परेका बोगटीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको नाक र मुखमा चोट लागेको प्रहरीले जनाएको छ ।

बोगटीमाथि भूपेन्द्र बडुवाल हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कपिल श्रेष्ठको समूहले कुटपिट गरेको कारागार प्रशासनले जनाएको छ । घटना भएलगत्तै कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रहरी उपरीक्षक(एसपी) बालनरसिंह राणा कारागार पुगेका थिए । एसपी राणाले कैदीबन्दीहरूबीच सामान्य विवाद भएको बताउँदै अहिले साम्य भइसकेको दाबी गरे ।

सुरक्षा स्रोतकाअनुसार बिहीबार प्रमुख जिल्ला अधिकारी हमालले गरेको निरीक्षणका क्रममा ब्लक ‘ए’मा रहेका कैदीहरूसँग मोबाइल फेला परेको थियो । त्यसपछि शुक्रबार ब्लक ‘ए’मा रहेका ७ जना कैदीबन्दीलाई ब्लक ‘बी’मा सारिएको थियोे । तर, कारागारका नाइके बोगटीले आफू जेलरको मान्छे हुँ भन्दै रवाफ देखाएको भन्दै श्रेष्ठको समूहले कुटपिट गरेको थियो तर प्रहरीले भने कैदीबन्दीबीच धकालधुकुल हुँदाखेरि नाइकेलाई चोट लागेको दाबी गरेको छ ।

तर, जेलर बसन्त खत्रीले श्रेष्ठलाई बोलाएर नाइकेका रूपमा काम गर्न भनेपछि उनले त्यहाँ विवाद गरेको दाबी गरिएको छ । यो कुराको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ । प्रमुख जिल्ला अधिकारी हमालले पनि सामान्य विवादले घटना भएको बताउँदै साम्य भइसकेको जानकारी दिए । कैदीबन्दीहरूले जेलर बसन्त खत्रीविरूद्व नाराबाजी समेत गरेका थिए । उनीहरूले सीडीओ र प्रहरी प्रमुखकै अगाडि जेलर खत्रीले मनोमानी गरेको भन्दै उनीविरुद्ध नाराबाजी गरेका थिए । घटनापछि प्रहरीले कारागारको सुरक्षामा थप कडाइ गरेको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार