शिविरमा तीन सयको स्वास्थ्य परीक्षण



श्यामलाल पोखरेल । बुटवल ।

शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १ रुपन्देहीले स्वास्थ्य सचेतना तथा रक्त परीक्षण कार्यक्रम गरेको छ । सामुदायिक वन उपभोक्ता समूहले वार्षिकरूपमा उपभोक्ताका लागि स्वास्थ्यबारे प्रशिक्षण र निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ । बुटवलको मोर्डन डाइनोसिस ल्याबमा कार्यरत स्वास्थ्यकर्मीको टिमले रक्त परीक्षण गरेको हो ।

वार्षिक कार्यक्रमअनुसार शनिबार आयोजित स्वास्थ्य सचेतना तथा रक्त परीक्षण कार्यक्रममा महिला पुरुष गरी ३ सय जनाले रक्त परीक्षण गरेका छन् । सुगर, कोलेस्ट्रोल, किड्नी, युरिक एसिडजस्ता विभिन्न रोगहरूको परीक्षण गरिएको सामुदायिक वनका अध्यक्ष रविन्द्र बस्नेतले जानकारी दिए । ‘रूख रोपौँ, वन जोगाऔँ’ भन्ने नाराका साथ वन संरक्षणका साथै सामाजिक कार्यअन्तर्गत स्वास्थ्य र शिक्षामा काम गर्दै आएको उक्त समूहले स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

एकदिने उक्त स्वास्थ्य कार्यक्रममा फिजिसियन डाक्टर सन्तोष घिमिरेले सुगर, कोलेस्ट्रोल, किड्नी, युरिक एसिडजस्ता विभन्न रोगहरूबारे प्रशिक्षण दिएका थिए । त्यस्तै महिला विशेषज्ञ डाक्टर नारायण जिसीले स्तन क्यान्सर र पाठेघरको क्यान्सरबारे महिलाहरूलाई प्रशिक्षण दिए ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले स्वास्थ्यप्रति खेलबाड नगर्न आग्रह गर्दै तिलोत्तमालाई स्वस्थ र सुन्दर बनाउनु पर्ने बताए ।

तिलोत्तमामा बस्ने हरेक नागरिक स्वस्थ र सुन्दर हुनुपर्ने बताउँदै उनले नगरवासीलाई स्वस्थ र सुन्दर बनाउनका लागि शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका साथै सरकारी र गैरसरकारी संघसस्थाहरूसँग सहकार्य गरी काम गर्ने प्रतिबद्धता जनाए । नसर्ने रोगहरूको अवस्था बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै नागरिकमा स्वास्थ्य सचेतना जगाउन आवश्यक रहेको बताउँदै वन जोगाउँदै स्वास्थ्य सचेतनाका कार्यक्रमहरू अगाडी ल्याउन नगर प्रमुख खाँणले शंकरनगर सामुदायिक वन उपभोक्ता समूहलाई आग्रह गरे ।

उनले हरेक रोगहरू आफ्नै किचनबाट उत्पत्ति हुने हुँदा किचनको खाना स्वस्थकर हुनुपर्ने बताउँदै भने, ‘हाम्रो किचन वैद्य खाना हो । खाना बनाउने आमा श्रीमती वैद्य हुन् । त्यसैले किचनको खानाबाटै स्वास्थ्यका बारेमा सोचेर अर्गानिक खाना पकाउनु पर्छ । तब मात्रै हामी स्वस्थ हुन सक्छौँ र निरोगी बन्छौँ ।’

सामुदायिक वनका अध्यक्ष रविन्द्र बस्नेतले तिलोत्तमा नगरलाई चिनाउने गरी काम गरिएको बताए । उनले हरियाली कायम गर्नका लागि नर्सरी कार्यक्रममा यो वन समूह उत्कृष्ट भएको बताउँदै वातावरण र उपभोक्ताको स्वास्थ्यप्रति गम्भीर भएर काम गरिएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार