साउनमा कोरा साइक्लिङ उत्सव हुँदै



कैलाली ।

तेस्रो धनगढी कोरा साइक्लिङ उत्सव यस वर्ष धनगढीमा हुने भएको छ । धनगढी साइक्लिङ ग्रुपको आयोजनामा साउन ३ गते साइकल यात्रीहरूलाई सामाजिक कामका लागि रकम संकलन गर्न तथा साइक्लिङप्रति आकर्षण गराउन उत्सव गरिन लागेको हो । यो वर्ष संकलन गरिने रकम धनगढीको निसर्ग अस्पतालमा उपचाररत बन्दना लिम्बुका लागि उपचार खर्च दिइने शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी दिएको थियो ।

सन् २०११ मा ३५ जनाबाट सुरु भएको काठमाडौँ कोरा साइकल यात्रालाई धनगढीमा २०२१ मा साइकलप्रेमी भरतविक्रम शाहीले सुरुवात गरेका थिए । यो वर्ष आयोजना हुने उत्सव धनगढीको कर्भडहलबाट सुरु भई गोदावरीको स्याउले हुँदै वेहडाबाबा मन्दिरसम्म पुगेर कर्भडहलमा समापन गरिने छ । सन् २०२१ मा ३५ किलोमिटर दूरी साइकल यात्रा भएकोमा यो वर्ष ५५ किलोमिटर यात्रा गरिने आयोजकले जानकारी दिएको छ ।

धनगढीलाई हरियाली, स्वच्छ राख्न र यसका लागि नगरवासीहरूले साइकल चढ्न सक्ने वातावरण बनाइ साइकल संस्कृतिको विकास गर्न उत्सव गरिन लागेको साइकल यात्री शाहले जानकारी दिए । धनगढीमा साइकल लेन बनेपनि अहिले साइकलमा यात्रा गर्ने यात्री न्यून रहेकोले उत्सवले आकर्षण बढाउने उनको भनाइ छ । कोरा आयोजनाको मूल उद्देश्य देशभरि नै साइक्लिस्ट समुदायहरू विकास गरि साइकल संस्कृतिको प्रवद्र्धन गर्नु बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार