‘एनपीएल राष्ट्रिय गौरवको विषय हो, रोकिन हुँदैन’



काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट राष्ट्रिय गौरवकै विषय भएकाले रोकिन नहुने बताएका छन् । सातदोबाटोमा बिहीबार हाइ पर्फमेन्स सेन्टरको उद्घाटन कार्यक्रममा बोल्दै ओलीले उक्त कुरा बताएका हुन् । ‘अब भव्यताको साथ एनपीएलको तयारी गर्नुस् । एनपीएल भनेको हाम्रो नेसनल प्राइड हो । त्यसलाई राष्ट्रियस्तरमा अझै बढी जोड दिने, त्यसको अट्र्याक्सन बढाउनुपर्छ,’ उनले भने, ‘एनपीएल गौरवको विषय हो, त्यो खेलिनुपर्छ ।

एनपीएल अघि बढाउने कुरामा सबैको ध्यान जाओस् भन्ने म आग्रह गर्न चाहन्छु ।’ साथै उनले सरकारमा आएपछि राजनीति होइन काम गर्नुपर्ने कुरामा पनि जोड दिए । ‘सरकारमा पोलिटिकल पार्टी नै आउँछन् । पोलिटिकल पार्टीहरू सरकारमा आएपछि पोलिटिक्स गर्ने होइन । सरकारमा आएपछि जुन क्षेत्रमा काम छ त्यो क्षेत्रको काम गर्ने हो’ उनले भने, ‘खेलको विकास गर्ने हो भने खेललाई अघि बढाउनुपर्छ । त्यहाँ राजनीति गर्ने होइन । पोलिटिक्स भन्दा बाहिर खेलमा ध्यान दिनुपर्छ ।’

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् । अहिले मन्त्री चौधरीले बनाएको कार्यदलले एनपीएलमा देखिएको विवाद छानिबन गरिरहेको छ । सोही क्रममा राखेपको लेटर हेड प्रयोग भएको र यसमा फरक फरक कार्यदल बनेको भन्ने विवाद पनि बाहिरिएको थियो । त्यसैगरी प्रधानमन्त्री ओलीले कीर्तिपुरमा अहिले बन्दै गरेको रंगशाला सानो देखेर चिन्ता नगर्न पनि आग्रह गरे । ‘कम्तीमा ५० हजारले हेर्नेभन्दा सानो अब रंगशाला हुँदैन । कीर्तिपुरमा अहिले बन्दै गरेको देखेर सानो होला भन्ने नसोच्नुहोला, अर्को चरणमा अझै ठुलो हुनेगरी विस्तार हुन्छ,’ उनले भने ।

यस्तै प्रधानमन्त्री ओलीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब नसार्न निर्देशन दिएका छन् । अब पनि सार्ने काम भएमा राष्ट्रिय लज्जाको विषय हुने भएकाले आगामी मंसिरमा प्रतियोगता गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका हुन् । आगामी मंसिर २ देखि ९ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ । ‘म भन्न चाहन्छु, तपाईँहरू २०२६ को तयारी राम्रोसँग गर्नुस्, भव्य तयारी गर्नुस् । यसपल्ट सरकारले बजेट झन्डै डबल बनाएको छ, खेलप्रति माया गरेर ।

बजेटबाट माया हामीले देखाएका छौँ,’ उनले भने, ‘त्यसकारण खेल क्षेत्र अब अगाडि बढ्छ । अनेक हिसाबले अगाडि बढ्छ । राष्ट्रिय खेलकुद मंसिरमै हुनुपर्छ । अब समय सारिँदैन् ।’ त्यस्तै प्रधानमन्त्री ओलीले आफूले हालै स्पेन भ्रमणका क्रममा रियल मड्रिडको रंगशाला हेरेर आएको स्मरण गर्दै दशरथ रंगलाशाको क्षमता कम भएकाले भक्तपुरको सूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने रंगशाला बनाउने घोषणा समेत गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रबार