सुर्खेत प्रहरीको विशेष अभियानः पाँच किलो अफिमसहित एक पक्राउ



नन्दराम जैशी । सुर्खेत ।

सुर्खेत प्रहरीले लागूऔषध, अवैध यौनजन्य गतिविधि र जुवातास लगायतका गतिविधि नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिरहेको छ। वीरेन्द्रनगरसहित जिल्लामा हुने अवैध गतिविधि नियन्त्रणका लागि ‘अपरेसन क्लिन’ अभियान सञ्चालन गरिएको प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीले बताए । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रहरी प्रमुख एसपी शाहीले आफ्नो कार्यकाल सुरु भएदेखि हालसम्म गरिएका महत्वपूर्ण कामकारबाहीबारे जानकारी गराएका थिए ।

उनका अनुसार लागूऔषधको रूपमा प्रयोग हुने प्रतिबन्धित अफिम ओसारपसारमा संलग्न एक व्यक्ति पक्राउ भएका छन् । ५ किलोभन्दा बढी अफिमसहित जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेत पक्राउ परेका हुन् । गोप्य सूचनाका आधारमा निगरानी र सूचना विश्लेषणपछि बुधबार साँझ साढे ६ बजे प्रहरीले उनलाई भेरीगंगा नगरपालिका–१० तालबारीबाट पक्राउ गरेको हो ।

एसपी शाहीका अनुसार प्रहरीलाई अफिम कारोबार भइहेको सूचना प्राप्त भएको थियो । सो सूूचनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले भेरीगंगास्थित तालबारीमा बस्नेतलाई शंकास्पद अवस्थामा फेला पारेको हो । जाँच गर्दा उनले बोकेको झोलाभित्र लुकाइ राखेको अफिमजस्तो देखिने ५ किलो ५४० ग्राम गिलो पदार्थ बरामद गरिएको एसपी शाहीले बताए ।

बस्नेतको साथबाट अफिम तौल गर्न प्रयोग गरिने डिजिटल तराजु १ थान, नागरिकता प्रमाणपत्र, विभिन्न बैंकका चेक धितो ५ थान र नगद ४ हजार ७३० रूपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३, दफा १४, उपदफा ६(३) बमोजिम मुद्दा दर्ता गरिएको छ । सो दफाअनुसार १०० ग्रामभन्दा बढी अफिमको कारोबार गर्नेलाई १५ वर्षदेखि जन्मकैदसम्म कैद सजाय र ५ लाखदेखि २५ लाख रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार जाजरकोट लगायतका पहाडी जिल्लाबाट संकलन गरिएको अफिमलाई आर्थिक लाभका लागि भारतीय सीमा रुपैडिहा नाकासम्म ओसारपसार गर्ने उनको उद्देश्य रहेको खुल्न आएको छ । बरामद अफिमको नेपालमा मूल्य करिब ८ लाख ८६ हजार ४०० रूपैयाँ र प्रतिकिलो मूल्य १ लाख ६० हजार अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा भने अफिमको मूल्य करोडौँ पर्ने भएकाले विदेश लैजान लागेको हुनसक्ने प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । अफिम ओसारपसारमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउन प्रहरीको सक्रियता बढेको छ ।

धमाधम पक्राउ पर्दै

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पछिल्लो साढे २ महिनाको अवधिमा ३५ ग्राम ३४० मिलिग्राम लागूऔषध (ब्राउन सुगर), १७ ग्राम ३६० मिलिग्राम चरेस र ५ किलो ६४० ग्राम अफिम बरामद गरेको छ । लागूऔषध कारोबारमा संलग्न ४४ जनालाई पक्राउ गरिएको छ, जसमा ५ जना महिला रहेका छन् ।

जुवाताससम्बन्धी ४ वटा मुद्दामा २१ जनालाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ । यस्तै अवैध यौनजन्य गतिविधिमा संलग्न २९ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । पक्राउ पर्नेमा १२ पुरुष, १२ महिला र ३ जना होटेल सञ्चालक छन्, जसले व्यावसायिक रूपमै यौनधन्दा चलाइरहेको खुलेको छ । अनुसन्धानका क्रममा यौनधन्दामा संलग्नहरूको डरलाग्दो तथ्य पनि बाहिर आएको उनले बताए ।

पक्राउ परेकामध्ये एक जना महिला एचआईभी संक्रमित र एक जना होटेल सञ्चालक पनि उक्त रोगबाट ग्रसित रहेको पाइएको छ । यस्तै बुधबारनै प्रहरीले वीरेन्द्रनगरको हटियालाइनस्थित तीर्थराज घिमिरेले सञ्चालन गरेको ‘टेष्टी खाजा घर’मा जुवा खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ३४ हजार ६४७ रूपैयाँ नगद र तास बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रबार