पावर टिलर प्रकरणः गोदावरीका ५० जना किसानले दिए उजुरी



कैलाली ।

कैलालीको गोदावरीमा पावर टिलर दिने भन्दै ठगिएका ५० किसानले उजुरी दिएका छन् । एक वर्षअघि अनुदानमा पावर टिलर लगायत कृषि उपकरण दिने भन्दै ठगिएका गोदावरी नगरपालिका ४, ६ र ८ का किसानले मंगलबार इलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएका हुन्।
उनीहरूले सुरो नेपालको नाममा गोदावरी नगरपालिका– ६ का वडाध्यक्ष जग्गुराम चौधरीकी बुहारी ३२ वर्षीया प्रीयंका चौधरीका नाममा उजुरी दिएका छन् ।

जसमा ३६ लाख १७ हजार बराबरको रकम प्रीयंकाले उठाएको उल्लेख छ । उजुरीकर्ता मध्येका एक मानबहादुर चौधरीले दिनभरी प्रहरी कार्यालयमा छलफलका लागि बस्दा पनि प्रीयंका सम्पर्कमा नआएपछि उजुरी दिएको बताए । उनले प्रीयंकाले नै गाउँमा आफूहरूलाई भेला गरी २ महिना भित्रमा किसानहरूले माग गरेका कृषि उपकरण दिने भन्दै २०८१ साउनमा पैसा संकलन गरे पनि अहिलेसम्म कुनै सामान नपाएको बताए ।

किसानहरूले दिएको उजुरीमा प्रीयंकाले पछिल्लो समय रकम र सामान नदिने भन्दै उल्टै धम्की दिने गरेको उल्लेख छ । छलफलका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा पुगेका प्रीयंकाका ससुरा वडाध्यक्ष जग्गुराम चौधरीले बुहारी महेन्द्रनगरमा रहेको बताए पनि हाल फोन स्विच अफ रहेको बताएका थिए ।

सोनमको उजुरी फिर्ता

पावर टिलर दिने भन्दै गोदावरीमा रकम संकलन गरेकी सोनम चौधरीको नामको उजुरी भने फिर्ता गरिएको छ । उनीबाट ठगिएका ४४ जना किसानले उजुरी दिने तयारी गरे पनि सोनमले १५ दिनमा रकम फिर्ता गर्ने मौखिक सहमति गरेपछि किसानहरूले उजुरी प्रहरी कार्यालयमा नबुझाइ फिर्ता लगेका हुन ।

मंगलबार इलाका प्रहरी कार्यालय मालाखेतीमा भएको छलफलमा सहभागी भएकी सोनमले आफूले किसानबाट संकलन गरेको रकम सुरो नेपालकी अध्यक्ष सुशीला खड्कालाई बुझाएकोले उनीबाटै रकम फिर्ता लिएर किसानलाई दिने बताएको किसान जगत चौधरीले बताए । इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दले प्रीयंकाका विरुद्ध उजुरी दर्ता भएको पुष्टि गरे । उनले सोनमले रकम उठाएकाहरूले भने सहमति गरेर फर्किएको बताए । सुरो नेपालकी अध्यक्ष खड्कासहित प्रीयंकाकी आमा सुनिता चौधरीलाई प्रहरीले जेठ १७ गते काठमाडौँबाट पक्राउ गरेर कञ्चनपुर ल्याइसकेको छ ।

दुवै जनाविरुद्ध कञ्चनपुरको कृष्णपुरका किसानले उजुरी दिएका थिए । दुवै जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।
गोदावरीमा मात्रै सुरो नेपालका नाममा ११० किसान ठगिएको बताइएपनि मंगलबार प्रीयंकाबाट ठगिएका ५० जना र सोनमबाट ठगिएका ४४ जना किसान इलाका प्रहरी कार्यालयमै पुगेका थिए । दुवै जनाले गोदावरीमा किसानबाट ७० हजार देखि १ लाख ३० हजारसम्म रकम उठाइएको पाइएको छ । सुरो नेपालका नाममा गोदावरी नगरपालिका मात्रै नभएर कैलालीका विभिन्न पालिका सहित कञ्चनपुरका किसान ठगिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार