वीरेन्द्रनगर ।
सुर्खेतको वीरेन्द्रनगर–६ सिटी बसपार्क नजिकै रहेको नमूना हङकङ बजारले रक्तदान कार्यक्रम गरेर आफ्नो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
‘रक्तदान नै जीवनदान’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा दर्जनौँ सर्वसाधारण, व्यवसायी, समाजसेवी तथा संघसंस्थाका प्रतिनिधिहरूले रक्तदान गरेका छन् । कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षबिक्रम खड्काले हालको आर्थिक कठिनाइका बाबजुद पनि निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
‘व्यवसायीहरूले वर्तमानको विषम आर्थिक अवस्थामाझ पनि आफ्नो सक्रियता घटाएका छैनन् । व्यवसायिक एकता, हित र संरक्षणका लागि सुर्खेत उद्योग वाणिज्य संघ निरन्तर लागि परेको छ,’ उनले भने, ‘निजी क्षेत्रको समृद्धि र व्यवसायिक वातावरण सुधारका लागि सबै सरोकारवालाबिच सहकार्य आवश्यक छ । हङकङ बजारलाई थप व्यवस्थित र आधुनिक बनाउँदै लैजान सके व्यवसायले सामाजिक उत्तरदायित्वमा समेत महत्वपूर्ण योगदान दिन सक्ने विश्वास छ ।’
हङकङ बजार व्यवस्थापन समितिले गरेको कार्यक्रममा अन्य वक्ताहरूले व्यवसायलाई सामाजिक सेवासँग जोड्न आवश्यक रहेको बताएका थिए । यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख छ । रक्तदान कार्यक्रममा सहभागीहरूमध्ये धेरैजसो हङकङ बजारमा सक्रिय व्यवसायी तथा कर्मचारीहरू रहेका छन् । रक्तदान कार्यक्रमलाई सुर्खेत अस्पतालको ब्लड बैंक इकाइले प्राविधिक सहयोग गरेको थियो । आयोजकका अनुसार आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम सञ्चालन गरिनेछन् ।









प्रतिक्रिया दिनुहोस्