धनगढी ।
सरकारले आर्थिक वर्ष २०८२–८३ को बजेटमार्फत लागू गरेको कर संरचना र अप्रत्यक्ष करको नीतिविरुद्ध देशभरका सुनचाँदी व्यवसायी आन्दोलन जारी राखेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त आह्वानमा व्यवसायीहरूले चरणबद्ध विरोध कार्यक्रमसहित अनिश्चितकालीन व्यवसाय बन्दको घोषणा जारी रहेको हो ।
दुई महासंघले संयुक्तरूपमा जारी गरेको विज्ञप्तिमा असार २२ गतेदेखि देशभरका सबै जिल्ला, नगर र बस्तुगत सदस्यहरूलाई आन्दोलनमा सक्रिय सहभागी हुन आग्रह गरिएको छ । महासंघहरूको भनाइमा सरकारले बजेटमार्फत सुनचाँदी व्यवसायमा लागु गरेको कर प्रणाली यति असहज र व्यवसायघातक छ कि यसले सम्पूर्ण उद्योगलाई नै धराशायी बनाउने खतरा उत्पन्न भएको छ ।
पहिलो दिन असार २२ गते आइतबारदेखि नै विभिन्न जिल्लास्तरीय प्रशासन कार्यालयहरूमा सांकेतिक विरोध प्रदर्शन गरिएको छ । त्यसैको निरन्तरता स्वरूप असार २३ गते सोमबार आन्तरिक राजस्व कार्यालय अगाडि प्रदर्शन गरिएको हो । कैलाली जिल्ला सुनचाँदी व्यवसायी संघको नेतृत्वमा भएको प्रदर्शनमा सहभागी व्यवसायीहरूले सरकारले ल्याएको कर नीतिविरुद्ध नाराबाजी गरेका थिए ।
आन्दोलन क्रमशः विस्तार हुँदै गएको छ । कैलाली सुनचाँदी व्यवसायी संघका सचिव प्रकाश भण्डारीले कैलाली मात्र नभई देशभरका व्यवसायीहरू आ–आफ्ना जिल्लामा विरोधमा उत्रिसकेको जानकारी दिए । उनले असार २४ गते उपभोक्ता सचेतना अभियान सञ्चालन, २५ गते मोटरसाइकल ¥याली निकालिने र २६ तथा २७ गते काठमाडौँमा केन्द्रीय रूपमा बृहत् विरोधसभा आयोजना गरिने जानकारी दिए । उक्त विरोधसभा राष्ट्रिय बहस तथा खबरदारी सभाको रूपमा सञ्चालन गरिने पनि महासंघले स्पष्ट पारेको छ ।
महासंघका महासचिव नीरबहादुर विश्वकर्मा र किरणप्रसाद बज्राचार्यले हस्ताक्षर गरेको सूचनामा उपत्यका बाहिरका जिल्लाहरूमा स्थानीय सन्दर्भअनुसार विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ । लामो समयदेखि व्यवसायीहरूले कर नीति सरल र व्यवसायमैत्री बनाउन सरकारलाई आग्रह गर्दै आएका भए पनि सरकारले त्यसतर्फ ध्यान नदिएको उनीहरूको गुनासो छ ।
कैलाली सुनचाँदी व्यवसायी संघका अध्यक्ष यदु सुनारले कर नीति तत्काल सच्याइएन भने आन्दोलन अझ चर्काउने चेतावनी दिएका छन् । उनले अब काठमाडौँमै केन्द्रित भएर देशभरका व्यवसायीहरूले एकीकृत रूपमा आन्दोलन गर्ने तयारी गरिरहेको जानकारी दिए । उनका अनुसार सरकारले ल्याएको नीति व्यवसायी मात्र नभई कालीगढ, उनीहरूमा आश्रित परिवार र उपभोक्ता सबैका लागि कारक सावित हुने देखिएको छ । ‘अब आन्दोलन काठमाडौँ केन्द्रित बनाउनुको विकल्प छैन,’ उनले भने, ‘सुनचाँदी बजार ठप्प पार्ने अवस्था आइसकेको छ ।’









प्रतिक्रिया दिनुहोस्