चप्पल हुने हातमा अब गाउँको सिंहदबारको ‘ट्राइसाइकिल’



गणेश रावत । कोहलपुर ।

कोहलपुर नगरपालिका–६ की देवीकुमारी थारु जन्मजात शारीरिक रुपमा अपांगता भएर जन्म लिइन् । उनको ढाडदेखि तलको भागले काम नगर्दा घिस्रेर हिँड्नुपर्ने बाध्यता छ । हातमा चप्पल लगाइ टेकेर घस्रदै उनी हिँड्ने गर्छिन् । अहिले मात्रै होइन् उनी सानै उमेरदेखि नै घस्रेर हिँड्दै आएकी छिन् ।

‘जन्मदेखि हातमा चप्पल लगाएर घस्रियर हिँड्ने गर्थेँ,’ उनले भनिन्, ‘अब नगरपालिकाले प्रदान गरेको ट्राइसाइकिलमा सरर…हिँड्न सहज हुने भयो । नगरपालिकाले हाम्रो मागका आधारमा सहायक सामग्री दिँदा खुसी लागेको छ ।’ आर्थिक रुपमा कमजोर रहेकाले महंगो सहायक सामग्री किन्न नसकेको उनी बताउँछिन् । सहायक सामाग्रीले आउने दिनमा कहीँकतै आवतजावत गर्दा हुने कठिनाइको अन्त्य हुनेमा उनी विश्वस्त छिन् ।

कोहलपुर नगरपालिका महिला बालबालिका तथा समावेशीकरण उप–शाखाले आफूहरुको शारीरिक अवस्था बुझेर गरेको सहयोगले राज्य रहेको अनुभूति भएको मिसन टुडेलाई बताइन् । देवीकुमारीको जस्तै समस्यामा छिन् श्यामकली थारु । कोहलपुर–१२ की श्यामकली उनै हुन्, जो नगरपालिकाबाटै सिलाइकटाइ तालिम लिएर आफैँ स्वरोजगार बनेकी छिन् । अपांगता भएका व्यक्तिले पनि केही गर्न सक्छन् भन्ने उनी एक उदारण हुन् ।

उनी भन्छिन्, ‘अपांगता भएका व्यक्तिलाई नगरपालिकाले स्वरोजगार बनाउन धेरै सहयोग गरेको छ । राज्य भएको अनुभूति दिलाउनुका साथै आवश्यकताका आधारमा सहयोग गरेकाले हामी धेरै खुसी छौँ ।’ सहायक सामाग्री वितरण कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले अपांगता भएका व्यक्तिहरुलाई आवश्यकताका आधारमा सहायक सामाग्री वितरण गरिएको बताइन् ।

नगरपालिकाभित्र रहेका अपांगता भएका व्यक्तिहरुको सहज जीवनयापनको लागि प्रत्येक वर्ष आवश्यकताका आधारमा सहायक सामाग्री प्रदान गर्दै आएको जानकारी दिइन् । अपांगता समन्वय समितिको संयोजकसमेत रहेकी सुवेदीले प्रत्येक महिना २५ गते फिल्डमा गएर अपांगता परिचयपत्र वितरण गर्ने गरेको समेत बताइन् । अपांगता भएका व्यक्तिहरुको मागका आधारमा उनीहरुलाई सहायक सामाग्री वितरण गरिएको जानकारी दिइन् ।

अपांगता भएका व्यक्तिहरुलाई सहायक सामाग्री मात्र नभई उनीहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउन सिलाइकटाइ तालिम, बेकरी तालिम, दोभाषे तालिम लगायत प्रदान गरेको बताइन् । यस्तै महिला बालबालिका तथा समावेशीकरण उप–शाखा प्रमुख घटना शाहले नगरपालिकाभित्र रहेका अपांगता भएका २० जनालाई सहायक सामाग्री प्रदान गरिएको बताइन् ।

अपांगता भएका व्यक्तिको आवश्यकता र समस्या पहिचानको लागि घरदैलोमा पुगेर तथ्यांक संकलन गरेको बताइन् । कृत्रिम खुट्टा, कृत्रिम हात, क्यालिफर, ह्विलचेयर एक जना र एएओ वितरण गरिएको जानकारी दिइन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २४ गते मंगलबार