प्रादेशिक औद्योगिक प्रदर्शनीमा उत्कृष्ट ५ उद्योग पुरस्कृत



वीरेन्द्रनगर ।

सुर्खेतमा सम्पन्न प्रादेशिक औद्योगिक प्रदर्शनीमा उत्कृष्ट हुने ५ उद्योगलाई पुरस्कृत गरिएको छ । प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय हुने उद्यमीलाई उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले सम्मान गरेको हो । पुरस्कृत हुने उद्योगहरूलाई क्रमशः प्रथमलाई ५० हजार, द्वितीयलाई ३० र तृतीय हुने उद्योगलाई २० हजार नगदसहित सम्मान गरिएको छ ।

प्रदर्शनीबाट कृषि तथा खाद्यान्नमा आधारित उत्पादन गर्ने हिमचुलि कृषि अर्गानिक तथा डेरी उद्योग र वन पैदावरमा आधारित लक्ष्मी धुप उद्योग प्रथम भएका छन् भने हस्तकलामा आधारित दृष्टिविहीन बुलबुले क्लिजिङ पाउडर उद्योग र सिस्ने गार्मेन्ट उद्योग द्वितीय भएका छन् । यस्तै वन पैदावरमा आधारित जेफ रत्न पत्थर उद्योग केन्द्र तृतीय हुन सफल भएको छ ।

प्रदर्शनीमा ६५ स्टल राखिएका थिए । सो प्रदर्शनी उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सञ्चालन गरेको थियो । त्यसैगरी प्रदर्शनीका अवसरमा आयोजित निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय छात्र छात्राहरूलाई पनि क्रमशः १५, १० र ५ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

श्रम, सीप र सिर्जनासहितको उद्यम, उत्पादन र उत्पादकत्वमा जोड दिने उद्देश्यका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रादेशिक औद्योगिक प्रदर्शनी भएको हो । उक्त प्रदर्शनीको समापनमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रदर्शनीले स्थानीय उत्पादन तथा बजारीकरणमा सहयोग पुग्नुका साथै उद्यमीहरूलाई प्रोत्साहन हुने बताए । स्थानीय साधन स्रोतको उपयोगबाट उत्पादित बस्तुहरूको प्रवद्र्धन तथा बजारीकरणमा ठुलो सहयोग पुगेको उनको भनाइ छ ।

नेपाल सरकार राष्ट्रपति चुरे तराई मधेस सरंक्षण विकास समितिका सदस्य कमला ओली शिवाकोटीले स्थानीय तथा घरेलु उत्पादनको वृद्धिले आयात प्रतिस्थापन गर्न सघाउने बताइन् । उद्यम र उद्यमीको संरक्षण, प्रवद्र्धन र विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको सुझाव छ ।

उद्योग मन्त्रालयका कायमुकायम सचिव शेरबहादुर श्रेष्ठले प्रदर्शनीले कर्णाली प्रदेशभित्रका लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तु, परम्परागत तथा सुधारिएको प्रविधिबारे जानकारी दिएको बताए ।

उद्योग निर्देशनालयका निर्देशक देवीलाल सापकोटाले कृषि तथा खाद्य उत्पादन, वन पैदावर र हस्तकला क्षेत्रका विभिन्न उत्पादनहरू राखिएको प्रदर्शनीले कर्णालीको स्थानीय उत्पादन, प्रवद्र्धन, गुणस्तर, त्यसको ब्राण्डिङ र बजारीकरणमा सहयोग पुग्ने बताए । उनका अनुसार कर्णालीमा लघु, घरेलु तथा साना उद्योग गरेर करिब ३६ हजार उद्योग रहेका छन् ।

उद्योग निर्देशनालयका शाखा अधिकृत सतेन्द्रकुमार यादवले लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन र विकासमा जोड दिएर महिला, अपाङ्गता, एकल महिला र दलितमैत्री उद्योग निर्माणमा जोड दिनुपर्ने बताए । उनका अन्ुसार कर्णाली सरकारले मेक इन कर्णाली, मेड इन कर्णाली भन्ने नाराका साथ अगाडि बढेको छ । प्रदर्शनीमा स्थानीय उत्पादित राडीपाखी, दैलेखी सावर जुत्ता, मह, अगरबत्ती, जडिबुटी, यहाँका रैथाने अन्नबाली, अल्लो, लोक्ता, दुना, टपरीलगायतका बस्तुहरू राखिएका थिए । प्रदर्शनीले उद्यमीलाई थप प्रोत्साहन गराएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २४ गते मंगलबार