जुम्ला ।
जुम्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । खोप उमेर समुहका सबै बालबालिका खोपको पहुँचमा पुगेपछि शनिबार ओैपचारिक कार्यक्रममाबीच जुम्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । आर्थिक वर्ष २०८१–८२ मा जुम्लाका ८ वटै स्थानीय तहका बालबालिका पूर्णखोपको पहुँचमा पुगेका हुन् ।
जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जुम्ला जिल्लालाई २०७९ सालबाट पूर्णखोप घोषणा तथा दिगोपना कार्यक्रमको शुभारम्भ गरेको बताए । उनले भने, ‘राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत खोप उमेर समूह १६ महिनादेखि ५९ महिनाभित्रका बालबालिकालाई दिइने विभिन्न खोप सबै पाएको र कोही पनि नछुटेको यकिन भएपछि पूर्णखोप सुनिश्चिता जिल्ला घोषण गरिएको हो ।’
उनका अनुसार जुम्लामा ८ वटा स्थानीय तहका ६० वटा संस्थागत खोप केन्द्र र ४४ वटा बाहय खोप केन्द्रबाट मासिक १०४ खोप केन्द्रबाट १०७ खोप सेसन सञ्चालन गरि खोप सेवा प्रदान गरिएको थियो । खोप सेवाको लागि आव २०८१–८२ मा १ वर्षमुनिका बालाबालिकाको लक्षित जनसंख्या २ हजार १७ जना रहेको छ । स्वास्थ्य संस्थाको प्रतिबेदनअनुसार खोप प्राप्त गर्ने करिब ९० प्रतिशत रहेका छन् ।
पूर्णखोप सुनिश्चितताको लागि निर्देशिकाअनुसार जन्मेदेखि १५ महिनासम्म तालिका अनुसारको खोप पूरा भएको हुनुपर्ने १६–५९ महिनाका बालबालिकाको घरधुरी सर्वेक्षण गरिएको थियो । सर्वेक्षणअनुसार ४ हजार २६१ बालबालिकामध्ये खोप पाउनबाट छुट भएका १२ जना बालबालिकालाई छुट खोप प्रदान गरिएको थियो ।
खोप उमेर समूहका ४ हजार २६१ जना बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चितता गरी प्रदेश खोप समन्वय समितिबाट प्रमाणीकरण भएपछि जुम्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । बालबालिकाले अनिवार्य पाउनैपर्ने बीसीजी, डिपिटी, दादुरा, रुवेला लगायतका विभिन्न नियमित खोप लगाइएका छन् ।
स्थानीय तह स्वास्थ्य शाखाका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका २०८२ वैशाख १२ गते, सिँजा गाउँपालिका वैशाख २५ गते, हिमा गाउँपालिका वैशाख ३१ गते र कनकासुन्दरी गाउँपालिका जेठ ८ गते पूर्णखोप सुनिश्चिता पालिका घोषणा भएका थिए । त्यस्तै पातारासी गाउँपालिका जेठ ९ गते, तिला गाउँपालिका जेठ ११ गते र तातोपानी गाउँपालिकालाई असार ५ गते पूर्णखोप सुनिश्चित घोषणा गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्