कोहलपुर नगरपालिकास्थित चौराहामा विभिन्न जंगली जनावरका मूर्तिहरु राखिएको छ । बाँकेमा रहेको बाँके राष्ट्रिय निकुञ्जको प्रवद्र्धन तथा निकुञ्जभित्र रहेका संरक्षित जंगली जनावरहरुको प्रचारप्रसार गरी आन्तरिक तथा वाह्य पर्यटकहरुलाई निकुञ्जसम्म ल्याउने उद्देश्यले राखिएका मूर्तिहरुबाट पक्कैपनि यहाँको व्यापक प्रचारप्रसार हुने र पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने देखिन्छ । यहाँमात्र नभएर विश्वमै यसप्रकारको परम्परा रहेको देखिन्छ । जुन ठाउँमा जुन बस्तुहरु उत्पादन हुन्छ वा ठाउँविशेष जुन विशेष चिज हुन्छ त्यसैको माध्यमबाट उक्त ठाउँको पहिचान बनेको हुन्छ । उक्त बस्तु तथा उत्पादनका माध्यमबाट धेरै ठाउँहरुको प्रचारप्रसार हुनुका साथै प्रवर्धन भएका छन् ।
बाँके राष्ट्रिय निकुञ्ज संरक्षित जनावर चौकाको वासस्थान हो । त्यतिमात्र नभएर बाघको समेत संरक्षित क्षेत्र हो । बाँके निकुञ्जभित्र रहेका संरक्षित जनावरहरुका माध्यमबाट यहाँको पर्यापर्यटन प्रवर्धन गर्न जरुरी छ । देशकै एउटामात्र चौका संरक्षित क्षेत्र भएको निकुञ्जको आवश्यक प्रचारप्रसार कमीका कारण चौका यहाँ पाइन्छ भन्ने पनि कतिपयलाई जानकारी छैन् । चौकाका माध्यमबाट व्यापक प्रचारप्रसार गरी आन्तरिक तथा वाह्य पर्यटकहरुलाई यहाँसम्म ल्याउन सके यहाँको आर्थिक विकास हुन सक्छ । कोहलपुर चौराहामा राखिएका यी जनावरका मूर्तिबाट यो आशा गर्न सकिन्छ । मूर्ति निर्माण गरेर चौराहामा राख्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको कोहलपुर नगरपालिकाको यो कार्य सराहनीय छ ।
नगरपालिकाले यहाँको पर्यटन प्रवर्धन गर्नका लागि लगानी गरेको यो कार्य प्रभावकारी भएमा नगरपालिकाले नगरका अन्य पर्यटकीय स्थलहरुमा समेत त्यहाँ पाइने जनावरका मूर्तिहरु राख्ने योजना बनाउन जरुरी छ । देशकै कान्छो निकुञ्जमा संरक्षित जनावरहरु रहेका छन्, संरक्षित जनावरहरुको प्रवर्धन तथा निकुञ्जको पर्यापर्यटनको पनि प्रचारप्रसारका लागि कोहलपुर चौराहामा विभिन्न जनावरका मूर्ति राखिनु सकारात्मक पक्ष हो । देशकै कान्छो निकुञ्ज जहाँ पाटेबाघ, चौकाजस्ता दर्जनौँ संख्यामा संरक्षित जनावरका साथमा अन्य दुर्लम जनावरसमेत रहेका छन् । जसको आवश्यक प्रचारप्रसार कमीका कारण अझैसम्म पनि बाँके राष्ट्रिय निकुञ्जले जुन गति लिनुपर्ने हो लिएको पाइँदैन् । बाँके राष्ट्रिय निकुञ्जनै भएर दैनिक सयौँको संख्यामा नजिकै रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकहरु जाने गरेका छन् ।
तर बाँके राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हुँदै बर्दिया निकुञ्ज जाने पर्यटकहरुलाई किन बाँके राष्ट्रिय निकुञ्जले आकर्षण गर्न सकेको छैन त ? गम्भीर भएर सोच्ने बेला आएको छ । प्रचारप्रसारमा कहाँनेर कमजोरी भयो ? किन पर्यटकको आँखा पर्न सकेको छैन् ? दर्जनौँको संख्यामा दुर्लभ तथा संरक्षित जनावरका साथै जंगल सफारी तथा हात्ती सफारीजस्ता प्याकेजका कार्यक्रमहरु किन प्रभावकारी हुन सकिरहेका छैनन् ? यस विषयमा निकुञ्ज प्रशासनले गम्भीर ध्यान दिन जरुरी छ । जसरी कोहलपुर चौराहामा विभिन्न संरक्षित जनावरका मूर्तिहरु राखेर पर्यटकहरुलाई यहाँको बारेमा जानकारी दिन र आकर्षित गर्न भनिएको छ त्यसैगरी व्यापक प्रचारप्रसार गर्नका लागि अन्य योजनाहरु पनि बनाउनु जरुरी देखिन्छ ।
कोहलपुर भएर यात्रा गर्ने यात्रुहरु तथा आन्तरिक तथा वाह्य पर्यटकले पनि मूर्ति देखेपछि पक्कैपनि यसका बारेमा जिज्ञासा राख्नेछन् र जानकारी लिनेछन्, जसका कारण उनीहरुले यसको सोधीखोजी गर्ने र निकुञ्जसम्म पुग्ने अपेक्षा गर्न सकिन्छ । यसले निकुञ्जको प्रचारप्रसार, जनावरको प्रवर्धन मात्रै नभएर चौराहाको सौन्दर्यीकरण पनि बढाएको छ । बाँके जिल्लाकै गौरव, शान र पहिचान बनेको राष्ट्रिय निकुञ्जको प्रचारप्रसार र प्रवर्धन गर्न यसले टेवा पु¥याउने देखिन्छ । भविष्यमा यी मूर्तिका कारण निकुञ्ज क्षेत्रमा सकारात्मक प्रभाव परेर पर्यटकहरु बढ्नसके मात्रै यसले सार्थकता पाउनेछ ।









प्रतिक्रिया दिनुहोस्