श्यामलाल पोखरेल । बुटवल ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि २०६३ सालमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको थियो । समितिले आफ्ना यातायात व्यवसायी र मजदुरहरुका छोराछोरीका लागि अक्षयकोष स्थापना गरेको हो । सुरुमा १ लाख ७८ हजार जम्मा गरेर स्थापना गरिएको छात्रवृत्ति अक्षयकोषमा अहिले ७ लाख ९८ हजार पुगेको छ । यही छात्रवृत्ति अक्षयकोषको ब्याजबाट समितिले प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको छ ।
प्रत्यके वर्षजस्तै यस वर्ष पनि समितिले शनिबार आफ्नै कार्यालय परिसरमा विशेष कार्यक्रमको आयोजना गरी २२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । समितिले रुपन्देही, पाल्पा, अर्घाखाँचीका विभिन्न स्कुलमा अध्ययनरत २२ जना विद्यार्थीलाई १० हजारका दरले २ लाख २० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको हो । आर्थिक रुपले कमजोर अवस्था भएका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलका अध्यक्ष टिकाराम गौतमले बताए ।
छात्रवृत्तिको रकम थोरै भएपनि विद्यार्थीलाई पढ्नका लागि केही सहयोग मिल्ने र अभिभावक, विद्यार्थीमा हौसला बढ्ने हुनाले छात्रवृत्ति प्रदान गरिएको र यसलाई निरनतरता दिने अध्यक्ष गौतमले बताए । उक्त कार्यक्रममा बोल्दै प्रदेश सांसद तथा नेपाली काँगे्रस लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक जमुना ढकालले शिक्षा, स्वास्थ्य राज्यले निःशुल्क दिनुपर्ने बताइन् । संविधानले शिक्षा, स्वास्थ्यलाई मौलिक हकमा राखेकाले शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्ने तर त्यसो नभएकाले आफूले प्रदेश सरकारमा कुरा उठाउने बताइन् ।
लुम्बिनी प्रदेशले कमाउँदै पढ्दै गर्ने नारासहित नीति तथा कार्यक्रम ल्याएको र शिक्षामा लगानी बढाएको उनले बताइन् । विद्यार्थीका लागि राज्यले दिएको सुविधा रुपन्देहीका केही विद्यालयले कटौती गरेको अनुगमनको क्रममा फेला पारिएको बताउँदै उनले भनिन्, ‘विद्यार्थीलाई दिएको सुविधा कटौती नगर्न आग्रह गरेका छौँ, विद्यार्थीको सुविधा कटौती गरेको भेटिएमा त्यस्ता विद्यालयलाई कारबाही हुन्छ ।’
नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र खड्काले हरेक सामाजिक संघसंस्थाहरु समाजप्रति उत्तरदायी हुनुपर्ने बताए ।
यातायात क्षेत्रमा आफ्ना समस्याहरु थुप्रै हुँदाहुँदै पनि विद्यार्थीका लागि अक्षयकोष स्थापना गरेर छात्रवृत्ति प्रदान गर्ने कार्यको प्रशंसा गर्दै यसबाट थुप्रै विद्यार्थीले लाभ लिएको बताए । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क भनेपनि व्यवहारमा त्यस्तो हुन नसकेको बताउँदै सबै विद्यार्र्थी शिक्षाको पहुँचमा पुग्न नसक्नु दुखदायी कुरा भएको उनले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले शिक्षाबिनाको मानिस बादलमा हराएको कागजस्तै हुने भएकाले विद्यार्थीलाई शिक्षाको पहुँचमा पुराउन यो छात्रवृत्तिले सहयोग पुराउने बताउँदै शिक्षासँगै स्वास्थ्यलाई पनि महत्व दिनुपर्नेमा जोड दिए । समितिका पूर्वअध्यक्ष तथा अक्षयकोष संरक्षक अर्जुन रानाभाटले आर्थिक अवस्था कमजोर भएकै कारण कुनैपनि यायातात व्यवसायी र मजदुरका छोराछोरी पढाइबाट वञ्चित नहोउन् भनेर २०६३ सालमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको बताए ।
उनले आर्थिक नभएकै कारण यातायात व्यवसायी र मजदुरका छोराछोरीलाई शिक्षाबाट वञ्चित हुन नदिने प्रतिबद्धता जनाए ।
अर्का पूर्वअध्यक्ष रामेश्वर श्रेष्ठले छात्रवृत्तिको रकम सानो भएपनि विद्यार्थीलाई सहयोग मिलेको बताउँदै विद्यार्थीलाई हौसला मिलेको बताए । उनले १० टन क्षमता थाम्ने सडकहरुमा ४० टन क्षमता भएका गाडीहरु गुडाउँदा सडक र पुलहरु भत्किएको उदाहरण दिँदै अबको केही वर्षमा नेपालका सडकहरुको अवस्था झनै कमजोर हुने बताए ।
यो विषयमा लामो समयदेखि राज्यलाई सचेत गराउँदै आएपनि कुनै सुनुवाइ हुन नसकेको बताउँदै राज्यलाई गम्भीर हुन आग्रह गरे । समितिका निवर्तमान अध्यक्ष यमप्रसाद पाण्डेयले छात्रवृत्तिका लागि स्थापना गरिएको छात्रवृत्ति अक्षयकोष बढाएर आवश्यकअनुसार विद्यार्थीलाई सहयोग पुराउने मिसन टुडेलाई बताए । समितिका वरिष्ठ उपाध्यक्ष कमल घिमिरे, रैनादेवी छहरा कालिका माध्यमिक विद्यालय पाल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुद्वबहादुर कार्की लगायतले बोलेका थिए ।









प्रतिक्रिया दिनुहोस्