राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले गाउँपालिकाका किसानलाई स्थानीय रैथाने जातको बीउ संरक्षणमा प्रोत्साहन गर्न आफूले समेत धान र गहुँबालीको बीउ उत्पादन गर्दै आएको बताए । उनले राप्ती सोनारी गाउँपालिकालाई कृषि कर्मबाटै आर्थिक समृद्धितर्फ लैजान आफू लागि परेको बताए ।
राप्ती सोनारी (बाँके) ।
बाँकेका किसानले एक लाख २८ हजार बढी स्थानीय रैथाने जातको धान र गहुँको बीउ उत्पादन गरेका छन् । बाँकेमा स्थानीय जातको खाद्यबालीको बीउ संरक्षण गर्दै आएको साकार कृषि सहकारी संस्था लिमिटेडका ६६ बीउ उत्पादक सेयर सदस्य किसानले धान र गहुँको एक लाख २८ हजार ८०२ केजी स्थानीय रैथाने जातको बीउ उत्पादन गरेका हुन् ।
किसानले ८३ हजार ४३० केजी धान र ४५ हजार ३७२ केजी गहुँ गरी जम्मा एक लाख २८ हजार ८०२ केजी स्थानीय रैथाने जातको बीउ उत्पादन गरेको साकार कृषि सहकारी संस्थाका अध्यक्ष हुमाशङ्कर ओलीले जानकारी दिए । साकार कृषि सहकारी संस्थाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा ६६ बीउ उत्पादक सेयर सदस्यलाई रु ८३ हजार ७२१ प्रोत्साहन रकम वितरण गरेको उनले बताए ।
उनका अनुसार, गत आर्थिक वर्षमा सेयर सदस्यमध्ये राप्ती सोनारीका चक्रबहादुर थारूले सबैभन्दा धेरै १४ हजार ८३७ केजी बीउ उत्पादन गरी रु नौ हजार ६४४ प्रोत्साहन रकम प्राप्त गर्न सफल भए । यसैगरी खोजलाल थारूले १० हजार ७९० बेजी बीउ उत्पादन गरी रु सात हजार १३ र गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले गत आर्थिक वर्षमा नौ हजार ५०८ केजी बीउ उत्पादन गरी रु छ हजार १८० प्रोत्साहन रकम प्राप्त गरेको अध्यक्ष ओलीले जानकारी दिए ।
राप्ती सोनारी गाउँपालिका–६ स्थित साकार कृषि सहकारी संस्थाले स्थानीय रैथाने जातको खाद्य बालीको बीउ संरक्षण गर्दै आएको छ । एक दशकदेखि किसानलाई आवश्यक पर्ने स्थानीय रैथाने जातको धान, मकै, गहुँ, मसुरो र तोरीको बीउ उत्पादन गरी किसानलाई सहज र सुलभ मूल्यमा उपलब्ध गराउँदै आएको साकार कृषि सहकारी संस्थाका मुख्य व्यवस्थापक जमानसिंह ओलीले जानकारी दिए ।
‘हामीले दश वर्षदेखि जिल्लामा उत्पादन हुने खाद्यबालीको बीउ उत्पादन गरी वितरण गर्दै आएपछि किसानलाई बीउ जोगाएर राख्नु पर्ने बाध्यता हटेको छ,’ उनले भने, ‘हामीले कृषि अनुसन्धान केन्द्र खजुराबाट सिफारिस स्थानीय रैथाने जातको गुणस्तरीय बीउ उत्पादन गरी वितरण गर्न थालेपछि किसानलाई ठूलो राहत भएको छ ।’
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले सहकारी संस्थाले किसानलाई बीउ उत्पादन कार्यमा प्रोत्साहन गर्ने कार्य सराहनीय भएको बताए । उनले सहकारीसँग समन्वय गरेर बाँके जिल्लामा बीउ उत्पादन कार्य आवश्यक सहयोग गर्ने दाबी गरे । राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले गाउँपालिकाका किसानलाई स्थानीय रैथाने जातको बीउ संरक्षणमा प्रोत्साहन गर्न आफूले समेत धान र गहुँबालीको बीउ उत्पादन गर्दै आएको बताए । उनले राप्ती सोनारी गाउँपालिकालाई कृषि कर्मबाटै आर्थिक समृद्धितर्फ लैजान आफू लागि परेको बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिका क्षेत्र अहिले पनि कृषि उत्पादनको लागि उपयुक्त रहेकाले आफूले प्रदेश सरकारसँग आवश्यक समन्वय गर्दै आएको बताइन् । साकार कृषि सहकारी संस्थाको राप्ती सोनारी–५ बिनौनामा रहेको गोदाम घरमा बीउ उत्पादन र भण्डारण हुँदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्