नेपालगन्ज ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा तातो हावाको लहरबाट बचाउन सघाउने उद्देश्यले कुलिङ सेन्टर (शितलन केन्द्र) निर्माण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको संयुक्त लागतमा नेपालगन्ज बसपार्कभित्र निर्माण गरिएको कुलिङ सेन्टरको शुक्रबार उद्घाटन गरिएको हो ।
नगर प्रमुख प्रशान्त विष्टले एक कार्यक्रमकाबीच कुलिङ सेन्टरको उद्घाटन गर्दै स्थानीय सरकारले सञ्चालनमा ल्याएको मुलुककै पहिलो कुलिङ सेन्टर भएको दाबी गरे । तातो हावाको लहरबाट धेरै मानिसहरू प्रभावित हुने नेपालगन्जमा लु प्रतिकार्य योजना अनुरुप यात्रुहरूलाई लक्षित गरी कुलिङ सेन्टर निर्माण गरिएको उनले जानकारी दिए । उनले नगरका अन्य स्थानमा पनि आवश्यकताका आधारमा कुलिङ सेन्टर बनाउने योजना रहेको बताएका छन् ।
उपमहानगरपालिकाको २७ लाख रूपैयाँँमा कुलिङ सेन्टरको भौतिक संरचना निर्माण गरेको हो भने नेपाल रेडक्रस सोसाइटीले १२ लाख मूल्य बराबरका आवश्यक विभिन्न सामग्री सहयोग गरेको हो । नेपालगन्ज उपमहानगरपालिका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर भुपेन्द्र बोहराका अनुसार कुलिङ सेन्टरमा एसी जडान गरेर वातानुकुलित तापक्रमको व्यवस्था गरिएको छ भने आपतकालीन स्वास्थ्य सेवा, पिउने पानी लगायत सुविधा रहने छ ।
एक हजार दुई सय ९१ स्क्वायर फिट क्षेत्रफलमा बनेको कुलिङ सेन्टरको छानामा युपिभिसी, सिलिङमा जिप्सम बोर्ड लगाइएको इन्जिनियर चन्दन राज दासले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटीले १–१ थान वाटर कुलर र वाटर ट्यांकी, २ टन क्षमताका इन्भर्टरयुक्त ४ वटा एसी, ८ वटा पंखा, ६० सिट क्षमताको फलामको कुर्सी ३ सिटे २० थान, १४ वटा एलइडी बल्ब लगायत सहयोग गरेको दासले बताए ।









प्रतिक्रिया दिनुहोस्