कोहलपुर (बाँके) ।
देशभरका सुनचाँदी व्यवसायी आठ दिनदेखि सडकमा छन् । सुनचाँदीमा लगाइएको कर फिर्ता गर्नुपर्ने मागसहित उनीहरू सडक आन्दोलनमै उत्रिएका हुन् । देशव्यापी कार्यक्रम अन्तर्गत बाँकेका व्यवसायीसमेत व्यवसाय बन्द गरेरै आन्दोलन गरिरहेका छन् । बाँके सुनचाँदी तथा गहना व्यवसायी संघ बाँके मध्य तथा सुदूरपश्चिम सुनचाँदी तथा गहना व्यवसायी संघले शुक्रबार कोहलपुरमा राजनीतिक दल र सांसदहरूसँग अन्तक्र्रिया कार्यक्रम आयोजना गरे ।
‘सुनचाँदीमा विलासित कर, उपभोक्तामा असर र व्यवसायीलई डर’ सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम नाम दिइएको कार्यक्रममा संघीय सांसददेखि राप्रपाका नेतालाई बोलाइएको थियो । उक्त अवसरमा व्यवसायीको आन्दोलन जायज भएको भन्दै राजनीतिक दल र सांसदहरूले आश्वासनै आस्वासन दिए । उक्त अवसरमा बोल्ने अधिकांशले संसदमा बोल्ने, अर्थमन्त्रीलाई समस्या सुनाउने आश्वासनदेखि आन्दोलनलाई घरदैलोसम्म लैजान सुझाव दिए ।
अन्तक्र्रियामा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले व्यवसायीहरूको आन्दोलत जायज भएको बताए । सरकारले लगाएको विलासिता करका विषयमा व्यवसायीहरूले आन्दोलन गरिरहेको विषयमा आफू जानकार रहेको बताए । सांसद ढकालले उक्त अवसरमा आश्वासन दिए । ‘यो विषय संसदमा समेत प्रवेश गरेको छ । २३ गतेदेखि प्रतिनिधि सभा बैठक छ । २४ र २५ गतेसम्म मेरो पालो आउँछ होला । तपाईँहरूले थाहा पाउनु हुनेछ । यहाँका समस्याका बारेमा त बोल्ने छु । तपाईँहरूले देख्ने र सुन्नेगरी,’ सांसद ढकालले भने ।
यस्तै सुनचाँदी व्यवसाय विलासिता हो की होइन भन्ने विषयमा अर्थमन्त्रीलाई भेटेरै व्यवसायीका समस्या समाधानका विषयमा कुरा राख्ने उनले दाबी गरे । यस्तै लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारीले सुनचाँदी व्यवसायीहरूले उठाएको मुद्दा सही भएको बताइन् । लुम्बिनी प्रदेश सभामा समेत यो मुद्दा प्रवेश गरेको भन्दै व्यवसायका जायज मागहरूको सम्बोधन हुनुपर्नेमा जोड दिइन् । नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले आन्दोलन जायज भएको प्रतिक्रिया दिए ।
सरकार जनताको पक्षमा नरहेको भन्दै कर्म गरेर खाने व्यवसायीहरू आन्दोलनमा उत्रिनु पर्ने अवस्था बन्नु दुःखद् रहेको उनले बताएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेका सचिव राजेन्द्रप्रसाद श्रेष्ठले वर्तमान सरकार जनविरोधी भएको बताए । उनका अनुसार वर्तमान सरकार विचौलिया र भ्रष्टाचारीहरूको संरक्षणमा छ । सुनचाँदी व्यवसायी आन्दोलनमा रहेको भन्दै उपभोक्तासमेत आन्दोलनमा उत्रिनुपर्ने सचिव श्रेष्ठले बताएका थिए । सरकारलाई दबाब दिनको लागि आन्दोलनाई घरदैलो अभियानका रूपमा सञ्चालन गर्न सुझाव दिए ।
नेकपा एमालेका कोहलपुर अध्यक्ष कुलप्रसाद भट्टराईले पार्टीको तर्फबाट सहयोग गर्न आफू तयार रहेको बताएका थिए । नेकपा (माओवादी केन्द्र) कोहलपुरका अध्यक्ष बलबहादुर खड्काले व्यवसायीहरूले थालेको गम्भीर आन्दोलनमा सरकारले मौन रहनु दुःखद भएको बताए । उनका अनुसार आन्दोलनलाई चोक चोकहरूमा लैजानुपर्छ । व्यवसायीहरूको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै उनले आफ्नोतर्फ हुने भूमिकाका लागि आफू तयार रहेको बताए । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले सुनचाँदाी व्यवसायीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए ।
राप्रपाका नेता अर्जुनजंग शाहले सरकार जनताको पक्षमा नरहेको जिकिर गरे । उक्त अवसरमा आन्दोलनरत संघहरूले सरकारले माग पूरा नगरेसम्म आन्दोलन जारी रहने बताएका थिए । आगामी आवको बजेटमार्फत सरकारले २ प्रतिशत विलासिता कर तथा रत्न र पत्थरमा लगाएको १३ प्रतिशत कर लगाएको छ । यो करले आफूहरूको व्यापारमा नकारात्मक असर पर्ने व्यवसायीहरूले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्