दुर्गा भवानी टुर एण्ड ट्राभल्सले यात्रु अलपत्र पारेको यो पहिलो घटना होइन । यसअघि पनि भारतको पलियामा ७० बढी यात्रुहरूलाई धनगढीबाट लगेर अलपत्र पारेको थियो । सो समयमा यात्रुहरूले प्रहरीमा जाहेरी दिएपनि प्रहरी र प्रशासनले कुनै कारबाही गर्न सकेको थिएन । भारतको बैंग्लोर पठाइदिने भन्दै यात्रु ठग्ने टुर एण्ड ट्राभल्सका सञ्चालकहरू भने आफ्नो संरक्षणमा उत्रिएका छन् ।
शेरबहादुर ऐर । कैलाली ।
धनगढीबाट गोविन्द ठगुन्ना बैग्लौर जान भनी दुर्गा भवानी टुर एण्ड ट्राभल्सबाट टिकट काटे । छ हजार नगद दिएर टिकट काटेका उनी अहिले धनगढीमा अलपत्र छन् । उनीसहित धनगढीमा अलपत्र परेका बझाङका दश जनाले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दर्ता गराएका छन् । तर, प्रहरीले भने टुर एण्ड ट्राभल्सका नाममा ठगी गर्ने व्यक्तिहरूलाई पक्राउ गर्न सकेको छैन ।
यात्रुहरू अलपत्र परेपछि सञ्चारमाध्यममा समाचार प्रकाशित भयो । सोही समाचारलाई लिएर ट्राभल्सका नाममा यात्रु ठग्ने दिपक बोहराले ठगिएका यात्रुहरूलाई धम्क्याउने कार्य गरिरहेको गुनासो गरेका छन् । बझाङका नबिन धामी हाइस गाडीबाट धनगढी पुगेका थिए । धनगढी चौराहमा पुगेपछि बोहराले उनलाई बैंग्लौर पुराइदिने भन्दै झोलाहरू लिएर गए ।
उनले बोहरालाई पैसा पनि दिए । पैसा लिएपछि भने बोहरा सम्पर्कविहीन बनेका छन् । धामीले आफू ठगिएपछि प्रहरीमा जाहेरी दिएका छन् । तर, प्रहरी भने बोहराको खोजीकार्य भइरहेको भन्दै पक्राउ गर्नबाट पन्छिएको छ । धामी भन्छन्, ‘समाचार आएपछि फोन गरेको थियो । मार्ने धम्की दियो । बोहराले आफू नेपाल भारत सीमाक्षेत्र कञ्चनपुरको डोकेबजारमा रहेको बतायो ।
पानी परिरहेको थियो । मेरो होटल छ भनी ल्यायो । अहिले अलपत्र छोड्यो ।’ बोहराले बाटो बन्द रहेको भन्दै उनीहरूलाई बंैग्लोर लग्नबाट पन्छिएको उनीहरू बताउँछन् । बोहरा यसअघि गायत्री टुर एण्ड ट्राभल्समा कार्यरत थिए । तर, पछिल्लो समय उनी दुर्गा भवानी टुर एण्ड ट्राभल्समा कर्मचारीका रूपमा कार्यरत छन । उनले यात्रु ठगेको भएपनि सञ्चालक सदस्यहरूलाई समेत प्रहरीले सोधपुछ गर्न सकेको छैन ।
दुर्गा भवानी टुर एण्ड ट्राभल्सले यात्रु अलपत्र पारेको यो पहिलो घटना होइन । यसअघि पनि भारतको पलियामा ७० बढी यात्रुहरूलाई धनगढीबाट लगेर अलपत्र पारेको थियो । सो समयमा यात्रुहरूले प्रहरीमा जाहेरी दिएपनि प्रहरी र प्रशासनले कुनै कारबाही गर्न सकेको थिएन ।
भारतको बैंग्लोर पठाइदिने भन्दै यात्रु ठग्ने टुर एण्ड ट्राभल्सका सञ्चालकहरू भने आफनो संरक्षणमा उत्रिएका छन् ।
सो टुर एण्ड ट्राभल्सले दिपक बोहरालाई प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने सामाजिक सञ्जालमार्फत जनाएका छन् । सञ्चालकहरूले अहिले टुर एण्ड ट्राभल्स दुई महिनादेखि बन्द रहेको भन्दै आफ्नो संरक्षण गरेका छन् । विरेन्द्र जप्रेलले दुई महिनादेखि धगनढीदेखि बैंग्लोर जाने टिकट बन्द गरेको तर, बोहराले आफ्नो टुर एण्ड ट्राभल्सको नाममा फर्जी टिकट काटेर बदनाम गराएको बताएका छन् ।
टुर एण्ड ट्राभल्सले टिकट दुई महिनादेखि बन्द गरेको भए बोहराले सक्कली टिकट सोही ट्राभल्सको कसरी पाए भन्ने प्रश्नमा मौन छन् । बोहराले यात्रुहरूलाई बसाएको होटल सञ्चालक अनुसार गायत्री टुर छोडेर बोहरा दुर्गा भवानी टुर एण्ड ट्राभल्समा कार्यरत रहेको बताउँछन् ।सञ्चालकका अनुसार पटकपटक बोहराले बझाङबाट आउने यात्रुहरूलाई सोही होटलमा बसाउने गरेका छन् ।
अहिले टुर एण्ड ट्राभल्सले यात्रु अलपत्र पारेको सार्वजनिक भएपछि बन्दको बहाना गराएर सो टुर एण्ड ट्राभल्सका सञ्चालकहरू ऋाफ्नो बचाउमा लागेको देखिन्छ । तर, सो टुर एण्ड ट्राभल्स अहिलेसम्म नियमविपरीत सेवा प्रदान गर्दै आएपनि कैलाली जिल्ला प्रशासन कार्यालय मौन बसेको देखिन्छ । धनगढीदेखि बैंग्लौर जाने क्रममा सवारीसाधनले पलियामा यात्रुलाई अलपत्र छोड्ने तथा धनगढीमै टिकट काटेर बस नपठाउने लगायतका समस्या टुर एण्ड ट्राभल्सहरूले निकाल्दै आएका छन् ।
कहिले बस व्यवसायी समितिको लापरबाही त कहिले टुर एण्ड ट्राभल्सको लापरबाहीले पनि नेपाली बस सेवा सञ्चालन गरेका कम्पनीहरूबाट नेपालीहरूनै दुःख पाउने गरेका छन् । भारतीय बसमा यात्रा गर्दा जोखिम मान्ने नेपालीहरू पछिल्लो समय नेपालीहरूबाट ठगी र सास्ती पाउनुपर्ने अवस्था रहेको छ ।
धनगढीमा भारतका विभिन्न स्थान मथुरा, हरिद्वार, जयपुर, भीलवाडा, नायद्वार, उदयपुर, खाटुश्याम, इन्दौर, झाँसी, अहमदावाद, गौरीफण्टा, पलिया, तिकुनिया, निघासन, बालाजी, सुरज, उज्जैन, वनारस, लखनउ, गोरखपुर आदि स्थानमा पुराउने भन्दै टुर एण्ड ट्राभल्सहरू खोलिएका छन् । तर, ती टुर एण्ड ट्राभल्ससँग आफ्नो गाडी राख्दैनन् । भाडामा लिएर नेपाली बोक्दा उनीहरूले अलपत्र पार्ने गरेका छन् ।
ती ट्राभल्सहरूले न त वडाबाट सिफारिस लिएका हुन्छन् ।
न त प्रशासनलाई जानकारी गराउने गर्छन् । न त तिनीहरूले व्यावसायिक कर तिरेका हुन्छन् । यसरी टुर एण्ड ट्राभल्सको लापरबाही बढ्दै गएपनि सरोकारवाला निकाय जिल्ला प्रशासन कार्यालय, प्रहरीले यो विषयमा चासो दिन सकेको छैन । प्रहरीकै मुखबाट नेपालीहरू टुर एण्ड ट्राभल्सले अलपत्र पारेको भन्दै गुनासो गर्दासमेत त्यसका सञ्चालकहरूलाई कारबाहीको दायरामा ल्याउन प्रहरीले चासो राख्दैनन् ।









प्रतिक्रिया दिनुहोस्