ठेलामा बेचिने खाद्य सामग्रीको गुणस्तर जाँचिदै



सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिकाले नगरका विभिन्न क्षेत्रमा सञ्चालित ठेलामा आधारित व्यवसायबाट बिक्री वितरण हुने खाद्य सामग्रीको खाद्य स्वच्छता जाँच गर्ने भएको छ । बिहीबार नगरपालिका अन्तर्गतको जनस्वास्थ्य शाखाले आयोजना गरेको पोषणमैत्री स्थानीय शासन प्रवद्र्धन विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख मोहनमाया ढकालले खाद्य स्वच्छताको ग्यारेन्टी गर्न अनुगमनको पाटोलाई तीव्र बनाउन लागिएको बताइन् ।

होटल तथा खाजा घरमा केन्द्रित खाद्य गुणस्तर जाँचलाई फुटपाथमा पनि कडाइका साथ गर्न लागेको उनको भनाइ छ । उनले भनिन्, ‘विगतमा होटल तथा खाजा घरमा केन्द्रित अनुगमन अब फुटपाथका ठेलामा राखिएका खाद्य सामग्री स्वास्थ्यका लागि उपयुक्त छन् या छैनन्, यसको गुणस्तर जाँच हुन्छ ।’ उनका अनुसार खाद्य सामग्रीको गुणस्तर कायम गरी पोषणमैत्री नगर बनाउने अभियानमा नगरपालिका लागिपरेको छ।

यसका लागि बजार अनुगमनको पाटोलाई व्यवस्थित बनाउने तयारी छ । यस्तै ठेला तथा फुटपाथ व्ययवसायीले जथाभावी फोहोर गर्ने प्रवृत्तिको नियन्त्रण नगरपालिकाले गर्न लागेको उनले बताइन् । आगामी वर्ष वीरेन्द्रनगरलाई पूर्णपोषणमैत्री पालिका बनाउने गरी अघि बढेको उनको भनाइ छ । यसका लागि संघीय सरकारले निर्माण गरेको पोषणमैत्री स्थानीय तह शासन कार्यान्वयन कार्यविधि २०८० बमोजिम व्यवस्थित योजनामार्फत अघि बढ्ने उनले बताइन् ।

संघीय सरकारबाट स्वीकृत भई कार्यान्वयनमा रहेको बहुक्षेत्रीय पोषण योजना कुपोषणको अन्त्य, मानवपँुजी निर्माण गरी समग्र आर्थिक सामाजिक विकासमार्फत दीर्घकालीन सोच पूरा गर्ने अभियानमा आफू रहेको नगर प्रमुख ढकालको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार