कोइरेलीवासीका घरघरमा खानेपानी धारा



नन्दराम जैशी । सुर्खेत ।

हिमा गाउँपालिका–२ स्थित कोइरेली गाउँमा एक घर, एक धारा निर्माण भएका छन् । कोइरेलीवासीका घरघरमा खानेपानी धारा निर्माण भएपछि स्थानीय खुसी भएका छन् । वर्षौँदेखी खानेपानी अभाव भोगिरहेको कोइरेली गाउँमा घरघर खानेपानी धारा मात्रै पुगेका छैनन्, खानेपानी योजनाको मर्मत कोष पनि स्थापना गरिएको छ । स्थानीयवासीको मेहनत र सहयोगमा खानेपानी व्यवस्थापनमा कर्णालीकै नमुना बन्दै गएको हिमा गाउँपालिकाले पनि एक घर, एक धारा निर्माण कार्यलाई प्रथामिकता दिएको छ ।

गाउँपालिकाको आर्थिक सहयोग तथा सुस्वा परियोजनाको प्राविधिक सहयोगमा विकट कोइरेली गाउँका ४३ घरधुरी अब सुरक्षित खानेपानीको पहुँचमा पुगेका छन् । बुधबार हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले कोइरेली खानेपानी आयोजनाको उद्घाटन गरेका हुन् । हिमालाई खानेपानी विकासमा कर्णालीकै नमुना बनाउने अठोट लिएर काम गरिरहेको उनले बताए । पछि आउने जनप्रतिधिले खानेपानी व्यवस्थापनमा कुनै पनि काम गर्नु नपर्नेगरी लगानी गरिरहेको उनको भनाइ छ ।

उनका अनुसार ३ वर्षको अवधिमा हिमाका १२ सय बढी घरधुरीमा सुरक्षित खानेपानीका धारा निर्माण भएका छन् भने निर्माण सम्पन्न योजनाको दिगो सञ्चालन, व्यवस्थापन तथा मर्मत सम्भारका लागि खानेपानी योजना मर्मत कोष नै स्थापना गरिएका छन् । ‘पाँच वर्षभित्र हिमालाई खानेपानीयुक्त पालिका बनाउने गरी काम अघि बढीरहेको छ । जिल्लाकै पहिलो पूर्णसरसफाइयुक्त पालिका बनाउने लक्ष्य छ,’ उनले भने, ‘हिमामा आधारभूत आवश्यकताका सबै विकास निर्माणका गतिविधिसँगै सामाजिक क्षेत्रमा पनि मावन क्षमता विकासका कार्यक्रमलाई जोड दिएका छौँ ।

पालिकावासीको सहयोग र साथमा हिमालाई नमुना बनाउने अभियान अघि बढेको छ ।’ कोइरेली खानेपानी योजना निर्माणमा हिमा गाउँपालिकाको ६९ लाख ७७ हजार ७७६ रूपैयाँ लगानी रहेको छ । कूल ६९ लाख ७७ हजार ७७६ लगानीमध्ये स्थानीय नागरिकको श्रमदान १३ लाख ३५ हजार ६६४ रूपैयाँँ, उपभोक्ता समितिबाट नगद सहयोग १७ लाख ६ हजार र हिमा गाउँपालिकाको ५४ लाख ६६ हजार ११२ रुपेैयाँ गरी कूल ६९ हजार ७७ हजार ७७६ रूपैयाँँ लगानी भएको छ ।

हिमा गाउँपालिका वास संयोजक सुमित्ता शाहीका अनुसार कोइरेली खानेपानी आयोजनाको काम सुरु भएदेखि निर्माण सम्पन्न हुने बेलासम्म सुस्वा परियोजनाले प्राविधिक सहयोग गरेको थियो । आयोजनाबाट ४३ घरधुरीका २६१ जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएको उनले बताइन् । जसम महिला ११४ र पुरुष १४७ जना रहेका छन् । कोइरेली खानेपानी आयोजनाका सचिव कालीबहादुर रोकायाले पानीकोे मुहान रहेको ओदीगाउँबाट करिब ५ किमि दूरी टाढाबाट पाइप लाइन बिछ्याएर ल्याइएको बताए ।

उनका अनुसार यसअघि पानीको स्रोत पर्याप्त भएपनि लगानी अभावले सदुपयोग नहुँदा स्थानीय पानीको अभाव झेल्न बाध्य थिए । स्थानीय बलबहादुर रोकायाले आवश्यकतालाई मध्यनजर गर्दै हिमा गाउँपालिकाको लगानीबाट खानेपानी योजना बनेपछि घरघरमै धारा पुगेको बताए । उनले भने, ‘अहिले खानेपानी अभावको समस्या मात्र टरेको छैन् । नियमित पानीको उपभोगदेखि करेसाबारी सिँचाइ, सरसफाइमा पनि सहज भएको छ । घरघरमा धारा पुगेपछि हामी निकै खुसी छौँ । विकासको अनुभूति भएको छ ।’ खानेपानी योजना निर्माणका अध्यक्षसमेत रहेका बुढाले खानेपानी योजनाको संरक्षण तथा मर्मत संभारमा ध्यानदिने बताए ।

सुस्वाका वास सल्लाहकार गोविन्द रोकायाले हिमा गाउँपालिकाले खानेपानी विकासमा गरेको काम उदाहरणीय रहेको उल्लेख गरे । सुस्वा परियोजना लागु भएकामध्ये कर्णालीमा सबैभन्दा उत्कृष्ट कार्य हिमा गाउँपालिकामा भएको उनको भनाइ छ । सुस्वा र पालिकाको संयुक्त लगानीमा निर्माण भएका करोडौँका खानेपानी आयोजनाको दिगो व्यवस्थापन, मर्मत सम्भार तथा पानी उपभोगमा ध्यान दिन आवश्यक रहेको उनले औँल्याए । हिमाकी पूर्वउपाध्यक्ष हिमाली रोकायाले खानेपानीको चरम अभाव भोगिरहेका कोइरेलीवासीको प्यास मेटाउन घरघरमा पानी पुराएकोमा धन्यबाद दिइन् ।

उनले भनिन्, ‘नदीको धमिलो पानी पिउने बाध्यता अन्त्य भएको छ । त्यसैमा महिलालाई बिहान बेलुका पानीकै जोहो गर्न धौ हुन्थ्यो । तर ढिलै भएपनि घरघरमा स्वच्छ खानेपानी पुग्यो । अब पानीका दुःख हटे ।’ काकाकुल कोइरेलीमा पानी पुगेपछि स्थानीयवासी उत्साहित भएका छन् । वर्षाैँपछि घरघरमा खानेपानी धारा पुगेपछि स्थानीयहरूले बाजागाजासहित हर्ष मनाएका हुन् । सुरक्षित खानेपानीको पहुँचमा पुग्नुका साथै उक्त खानेपानीबाट बारीमा तरकारी लगाउन तथा अन्य सिँचाइमा सहज हुने अपेक्षा छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार