सम्पादकीयः सबैको सहयोग आवश्यक



बाँकेको नेपालगन्जमा विगत तीन वर्ष अघिदेखि सञ्चालनमा आएको लुम्बिनी प्राविधिक विश्वविद्यालय लुम्बिनी प्रदेश सरकारको गौरवको योजना हो । सूचना प्रविधि, इन्जिनियरिङ, कृषि तथा वन विज्ञान, पर्यटन लगायतका क्षेत्रमा उच्च शिक्षाको प्रवद्र्धन गर्नुका साथै प्रविधि र नवप्रवर्तनको प्रयोग र विकासमा टेवा पु¥याउने उद्देश्यले २०७९ साल असार १८ गते लुम्बिनी प्रदेश सरकारको प्रदेश सभाको ऐनमार्फत विश्वविद्यालय स्थापना भएको हो । प्राविधिक धारको यो विश्वविद्यालय नेपालमै पहिलो प्राविधिक विश्वविद्यालय हो । यस अर्थमा पनि यो विश्वविद्यालयले महत्व राख्दछ । बाँकेवासी त्यसमा पनि नेपालगन्ज र आसपासका नागरिकका लागि यो झनै गर्व गर्ने विषय हो ।

विश्वविद्यालयले स्नातक तहमा बिटेक इन सिभिल इन्जिनियरिङ, बिटेक इन आईटी इन्जिनियरिङ, बिटेक इन आईटी र बिटेक इन कम्प्युटर साइन्स एण्ड एआई गरी चार वटा कार्यक्रममार्फत विद्यार्थीहरूलाई प्रविधि शिक्षा प्रदान गरिरहेको छ । त्यतिमात्र नभएर भर्खरैमात्र विश्वविद्यालयले स्नातकोत्तर तहमा समेत एमटेक इन कम्प्युटर साइन्स र एमटेक इन आईटी कार्यक्रम सञ्चालन सुरु गरेको छ । विश्वविद्यालयले आगामी शैक्षिक सत्रबाट स्नातकोत्तरमा सिभिल इन्जिनियरिङका कन्स्ट्रक्सन म्यानेजमेन्ट र उर्वन प्लानिङ त्यसैगरी स्नातकमा जिओम्याट्रिक इन्जिनियरिङ र बिटेक इन एलएलबी जस्ता कार्यक्रम सञ्चालन गरिने उद्देश्य राखेको छ । विश्वविद्यालयले गरिब, विपन्न वर्ग तथा पिछडिएका वर्ग, भूगोलका विद्यार्थीहरूका लागि पूर्ण निःशुल्क तथा लाग्ने शुल्कमा विभिन्न प्रतिशतमा छुटको व्यवस्था गरेको छ ।

जसका कारण आर्थिक अवस्था कमजोर भएर आफूले इच्छा गरेको प्रविधि क्षेत्रमा अध्ययन गर्न नपाउने विद्यार्थीहरूका लागि सुनौलो मौका प्रदान गरेको छ । हाल पनि दर्जनौँ विद्यार्थीहरूले यो सुविधाअन्तर्गत अध्ययन गरिरहेका छन् । अहिलेको युग भनेको प्रविधिको युग हो । यसमा कुनै दुईमत नै छैन् । यहि कुरालाई ध्यानमा राख्दै देशभित्र दक्ष प्रविधियुक्त जनशक्ति उत्पादन गरेर देशविकासमा योगदान दिन सक्ने भविष्यका कर्णधार उत्पादन गर्नका लागि विश्वविद्यालयले पहल गरिरहेको छ । आफ्नो स्थापनाको छोटो समयमै विश्वविद्यालयले शैक्षिक गतिविधिमा फड्को मारेको देखिन्छ। ३३ जना विद्यार्थीबाट अध्ययन अध्यापन सुरु गरेको विश्वविद्यालयमा तीन वर्षको अवधिमा मात्र अहिले दुई सयबढी विद्यार्थी अध्ययन गर्नुले नै यो कुरालाई पुष्टि गर्दछ ।

गुणस्तरीय, व्यावसायिक ज्ञानसहित व्यवहारिक सीपसम्पन्न दक्ष जनशक्ति उत्पादन गर्ने सिद्धान्त र अभ्यासको समायोजनमार्फत वास्तविक जीवनका समस्याहरू समाधान गर्न सक्ने क्षमतायुक्त विद्यार्थी उत्पादन गर्ने विश्वविद्यालयको मिसन सफल हुँदै गएको देखिन्छ । यो विश्वविद्यालयको एकल प्रयासबाट मात्रै भने सम्भव भएको होइन र हुन्न पनि । विश्वविद्यालयलाई सफल बनाउका लागि सबैको सामूहिक प्रयास, समर्पण र दूरदृष्टि, साथ र सहयोगका कारण विश्वविद्यालय लुम्बिनी प्रदेशको शैक्षिक र प्राविधिक विकासको आधारस्तम्भका रूपमा उभिएको छ । यो सबैको गर्वको विषय हो ।

विश्वविद्यालयले सञ्चालन गरेका शैक्षिक कार्यक्रमहरूले विद्यार्थीहरूलाई आधुनिक ज्ञान, सीप र नवप्रवर्तनको अवसर प्रदान गर्नु, विश्वविद्यालयको लक्ष्य केवल डिग्री प्रदान गर्नु मात्र नभएर विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउनु, दिगो विकासमा योगदान दिन सक्षम बनाउनु र लुम्बिनी प्रदेशको समृद्धिको आधार तयार गर्नु रहेका कारण पनि विद्यार्थीहरूको यो विश्वविद्यालयतिर आकर्षण बढेको पाइन्छ । विश्वविद्यालयले शिक्षालाई सीप, सीपलाई रोजगारी र रोजगारीलाई व्यवसाय र अर्थतन्त्रसँग जोड्ने गरी लिएको लक्ष्य पूरा गर्न राजनैतिक दल, समाजसेवी, सरकार, स्थानीयवासी, अभिभावक सबैको सकारात्मक सहयोगको आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार