खेलकुद पत्रकार मञ्च रुपन्देहीमा अधिकारी



बुटवल ।

नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीमा सुमन अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ । अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसका अवसरमा बुधबार बुटवलमा सम्पन्न भेलाले सुमन अधिकारी अध्यक्ष रहेको ११ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा यमलाल भुसाल, सचिवमा स्वस्तिक श्रेष्ठ, कोषाध्यक्षमा रवी राना, सहसचिवमा सञ्जु पौडेल रहेका छन् ।

त्यस्तै सदस्यहरूमा प्रकाश न्यौपाने, मनोज थापा, विकास पराजुली, इन्द्र खत्री, राधेश्याम विक र कृष्ण भण्डारी निर्वाचित भएको निर्वाचन समितिका संयोजक दिनेश पाण्डेले जानकारी गराए । बुधबार अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसका अवसरमा आयोजित भेलामा पूर्वखेलाडी एवं प्रशिक्षकलाई सम्मान गरिएको छ । सोही कार्यक्रममा मञ्चले खेलकुद क्षेत्रमा योगदान दिएका नेपाली क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन तथा महिला भलिवलका प्रशिक्षक अर्जुन घिमिरेलाई सम्मान गरेको थियो भने खेल पत्रकार मनोरञ्जन शर्मालाई रु. २५ हजार नगद सहयोग प्रदान गरेको थियो ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दीर्घबहादुर केसी कुमारले मोफसलमा खेलकुदका गतिविधिहरूलाई बढाउनु पर्ने र त्यसका लागि मिडियाको महत्वपूर्ण भूमिका रहेको बताए । पत्रकारिताबाट खेल क्षेत्रको समग्र विकासमा सहयोग पुगेको बताउँदै उनले भने, ‘खेलको माध्यमबाट देशलाई चिनाउन सकिने भएकाले खेल क्षेत्रलाई कमजोर मान्न हुँदैन ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष दिनेश पाण्डे, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, एन्फाका पूर्वउपाध्यक्ष हरिप्रसाद श्रेष्ठ, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुन, नेपाली क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले खेलकुद पत्रकारिता फस्टाउन आवश्यक रहेको बताए ।

उनीहरूले पत्रकारिता भित्रको महत्वपूर्ण विधा खेल भएकाले पत्रकारिताको माध्यमबाट समग्र खेल क्षेत्रको विकास गर्न सकिने बताए ।
सुमन अधिकारीको अध्यक्षता र स्वस्तिक श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रम नेपाली महिला राष्ट्रिय फुटबल टिमकी पहिलो गोलकिपर मोतीकला गुरुङले उद्घाटन गरेकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १९ गते बिहीबार